भक्तपुरमा उत्पात मच्चाएपछि विरगञ्ज पठाईएका १५ बाल कैदीवन्दी फिर्ता पठाउने सहमति
विरगञ्ज– वीरगञ्जस्थित बाल सुधारगृहमा उत्पात मच्चाउने १५ जना बाल कैदीवन्दीलाई भक्तपुर बाल सुधार गृहमा फिर्ता पठाउने सहमति भएको छ। उनीहरुलाई ३ साताअघि भक्तपुरबाटै विरगन्ज ल्याईएको थियो।
भक्तपुरबाट ल्याइएका १८ जना बालकैदी र यहाँ पहिलेदेखि बस्दै आएका कैदीहरूबिच मंगलवार रातभर झडप भएको थियो । झडपले उग्र रूप लिँदा स्थिति नियन्त्रण बाहिर गएको थियो ।
बालकैदीबिच भएको झडमा ११ जना कैदी र ३ जना प्रहरी घाइते भएका थिए । १८ जना कैदीमध्ये १५ जना फिर्ता पठाउने सहमति भएपछि मात्रै स्थिति नियन्त्रणमा आएको पर्साका सीडीओ हिरालाल रेग्मीले बताए।
भक्तपुरबाट आएका बालकैदीहरूले यहाँ नबस्ने भन्दै विरोध जनाउँदै आएका थिए । सोही विषयलाई लिएर उनीहरूले सुधार गृहका नाइकेसँग विवाद गरी कुटपिट गरेपछि स्थिति तनावग्रस्त बनेको हो ।
भक्तपुरको बाल सुधारगृहमा भदौ ४ मा जेल फुटाएर विरोध गर्दै निस्किएका मध्ये १८ जना बालकैदीहरूलाई वीरगञ्जको बाल सुधार गृहमा ल्याइएको थियो। त्यहाँ पहिलेदेखि १३१ जना बालकैदी रहँदै आएका छन् । सुधारगृहमा अहिले कुल १४९ जना बालकैदी छन् तर सुधार गृहको क्षमता भने ६० जनामात्रै रहेको प्रजिअ रेग्मीले जनाए ।
अदालतबाट फैसला हुदाँ बालिग रहेका सुधार गृहका कैदीहरु अहिले २५÷२६ वर्ष उमेर पुगिसकेको तर, अदालतबाट फैसला नआएसम्म सुधारगृहबाट कारागारमा राख्न नसकिने सीडीओ रेग्मीले जनाए ।