४ वर्षअघि डुबेर मृत्यु भएकी बालिकाको बदला लिन गोली हानेर १४ वर्षीय बालकको हत्या

रौतहट — तीन/चार वर्षअघि इट्टाभट्टामा खनेको पानीको खाल्टोमा डुवेर एक बालिकाको मृत्यु भएको घट्नाको रिसईबी साँध्न रौतहटको बृन्दावन नगरपालिकामा एक १४ वर्षीय बालकको गोली हानेर हत्या गरिएको छ। हत्या आरोपमा ४ जना पक्राउ परेका छन्।
वृन्दावन–७ का बालक कृष्णप्रसाद यादवलाई गोली हानेर मारेको आरोपमा प्रहरीले वृन्दावन–७ कै नागेन्द्र सहनी, साधु उपनाम भएका अर्का नागेन्द्र सहनी, गौर नगरपालिका–४ का विकास पटेल र वृन्दावन–८ का अनिल साहलाई पक्राउ गरेको हो।
पक्राउ परेका ४ जनामध्ये २ जना हत्यामा प्रत्यक्ष संलग्न भएको र २ जना प्रमाण नष्ट गर्न सहयोगी देखिएको रौतहट प्रहरीका एसपी दिलीप घिमिरेले वताए। ६ बैशाखदेखि घरबाट सम्पर्कविहिन भएका कृष्णको शव ५ दिनपछि (१२ बैशाख) मा गरुडा नगरपालिका– ८ स्थित चाँदी खोलामा पानीमा घोप्टो परेको अवस्थामा फेला परेको थियो।
एसपी घिमिरेका अनुसार एक जना नागेन्द्रले टिकटक बनाउने भन्दै कृष्णलाई ६ वैशाखको दिउँसो गढीमाई मन्दिर नजिक बोलाएका थिए। त्यसपछि नागेन्द्र द्वयकै मिलेमतोमा उनको हत्या भएको अनुशन्धानबाट खुलेको छ।
बीआर ०५ डब्लू ०१३७ नम्बरको भारतीय मोटरसाइकल चढेर त्यहाँ पुगेका उनलाई नियन्त्रणमा लिई मोवाईलसमेत खोजेर जवर्जस्ती मोटरसाईकलको बीचमा राखेर खोला पुर्याईयो। खोलामा पुग्नासाथ साधु भन्ने नागेन्द्रले कृष्णलाई धकेलेर लडाइदिएको र अर्का नागेन्द्रले छाती र पेटमा २ राउण्ड गोली हानी हत्या गरेको अनुशन्धानबाट खुलेको छ।
त्यसपछि शव खोलामै छोडेर उनीहरु कृष्णकै मोटरसाइकल चढी दुर्गाभगवती गाउँपालिका–५ पुगेका थिए। त्यहाँ उनीहरु मध्ये एक जनाको वहिनीको घर छ। वहिनीको घरमा पेस्तोल लुकाई गौर नगरपालिका–४ का विकास पटेलसँगको मिलेमतोमा मोटरसाइकलको नम्बर प्लेट ब्यवस्थापन गरेका थिए।
मोटरसाईकल भने टुक्रा पारेर गौर –८ मोटरसाइकल ग्यारेज सञ्चालक अनिल साहकोमा पुर्याइएको थियो। यता, घरबाट हिडेका कृष्ण फर्किएर नआएपछि खोजतलास सुरु भयो। फेला नपरेपछि परिवारका सदस्यले ९ वैशाखमा ईलाका प्रहरी कार्यालय गरुडामा खोजतलासको निवेदन दिएका थिए।
त्यसपछि अनुशन्धान गर्दै जाँदा यो सवै प्रकरण वाहिर आएपछि प्रहरीले चारै जनालाई पक्राउ गरी कर्तव्य ज्यानमुद्दामा अनुशन्धान गरिरहेको छ।
एसपी घिमिरेको भनाई अनुसार केही समयअघि कृष्णका बुबा सुरज यादवले सञ्चालन गरेको इँटा भट्टाको खाल्डोमा डुबेर एउटा नागेन्द्रकी भतिजीको मृत्यु भएको थियो। नागेन्द्रको परिवारका सदस्यले सुरजले नै बालिकाको हत्या गरेको आरोप लगाएका थिए।
यही विषयमा तीन वर्षअघि सुरज अपहरणमा परे। अपहरण गरेको आरोप लागेपछि नागेन्द्रका दाजु धर्मेन्द्र फरार छन्। अपहरणको मुद्दा अदालतमा चलिरहेको छ। यही प्रकरण वढ्दै जाँदा दुई परिवारको रिसईवीले बालकको ज्यान गएको हालसम्मको अनुशन्धानबाट खुलेको घिमिरेले वताए।