सप्तरीमा ४ वर्षको छोरो मारेर आफु पनि मर्ने प्रयास गरेकी आमाको अवस्था सिकिस्त

राजविराज — सप्तरीमा एक महिलाले छोरालाई मारेर आफु पनि मर्ने प्रयास गर्दा छोराको मृत्यु भएको छ। आफु भने बाँचेकी छिन्, तर अवस्था सिकिस्त छ।
राजविराज नगरपालिका–१ चनौराकी २५ वर्षीया काजलदेवी साफीले आइतबार साँझ छोरा ४ वर्षीय सौरभकुमार साफीलाई विष खुवाएर आफुले पनि सोही विषादी सेवन गरेकी थिईन। सिकिस्त अवस्थामा फेला परेका दुवैलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याईएको थियो।
बालकलाई थप उपचारको आवश्यक्ता भएपछि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको थियो। त्यहाँ पनि उपचार सम्भव हुन नभएपछि विराटनगरस्थित नोबेल अस्पताल रिफर गरियो।
त्यहाँ उपचारका क्रममा सोमबार बिहान उनको मृत्यु भएको सप्तरी प्रहरीका एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए। विष सेवन गरेकी काजलको नोबेल अस्पतालमै उपचार भइरहेको छ। उनको अवस्थामा पनि गम्भीर रहेको उनले बताए।
घरायसी विवादका कारण आवेशमा आएर काजलले यस्तो कदम उठाएको प्रारम्भिक अनुशन्धानमा खुलेको प्रहरीले जनाएको छ।