भेरी अस्पतालमा भिषण आगलागीः ३ करोड बढिको क्षती, दुई दिन सेवा बन्द

काठमाडौँ– बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा शनिबार भिषण आगलागी हुँदा ३ करोड बराबरको क्षती भएको छ। भ्याक्सिन राख्ने फ्रिजबाट विद्युत् सर्ट भएर अस्पतालको मेडिकल स्टोरमा आगलागी भएको हो।
अस्पतालका मेसु (मेडिकल सुपरिटेण्डेण्ट) डा. निराजन सुवेदीका अनुसार आगलागीबाट ओपीडी भवन, मेडिकल स्टोर र फार्मेसीमा क्षति पुगेको छ।
अस्पतालको ओपीडी बिल्डिङमा लागेको आगो नेपालगञ्ज उपमहानगरपालिकाको दमकलको सहयोगमा निभाइएको थियो। त्यसक्रममा बिल्डिङभरी पानी र जलेका/नजलेका सामानहरु छरपस्ट छन्।
आगलागीबाट कम्तिमा ३ करोड बराबरको क्षती भएको जनाईएको छ। यद्यपी, आगलागीको कारण र क्षति बारे वास्तविक्ता पत्ता लगाउन अस्पताल विकास समितिका सदस्य डा. डक्ट धितालको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ।
आगलागीपछि सफाई र व्यवस्थित गर्न दुई दिन आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ। आज र भोलि दुई दिन ओपीडीमा बिरामी जाँच र ल्याब सेवाको काम बन्द गरिएको मेसु डा. सुवेदीले बताए। अल्ट्रासाउन्ड र इमरेर्जेन्सी सेवा चालु छ।