पाकिस्तानी नागरिकलाई ४८ घण्टाभित्र भारत छाड्न निर्देशन, जम्मू–कश्मिर बन्द

काठमाडौँ– जम्मू–कश्मिरस्थित पहलगाममा आतंवादी हमलापछि भारतले पाकिस्तानी नागरिकलाई ४८ घण्टाभित्र भारत छाड्न निर्देशन दिएको छ।
बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न पाँच निर्णयहरु गर्दै यस्तो निर्देशन दिएको हो। भारत प्रशासित जम्मु कश्मीरमा मंगलबार बन्दुकधारी समुहको आक्रमणमा एक नेपालीसहित २६ जनाको ज्यान गएको थियो।
पहलगाम आक्रमणमा संलग्न आतंकवादी भनेर भारतले तीन जनाको स्केच जारी गरेको छ। उनीहरुको नाम आसिफ फौजी, सुलेमान शाह र अबु तल्हा भनिएको छ। भारतको गुप्तचर निकायका अनुसार आक्रमणमा लस्कर ए तोयबाको प्रोक्सी विङ्ग द रजिस्टेन्स फ्रन्ट (टीआरएफ)को हात छ।
पर्यटकीय क्षेत्र पहलगाममा घुम्न गएका पर्यटकहरुमाथि गोली बर्साउँदा बुटवलका सुदीप न्यौपानेसहित २६ जनाको मृत्यु भएको थियो भने २० जनाभन्दा बढी घाइते छन्। घटनाको अनुसन्धानका लागि भारत सरकारको राष्ट्रिय अनुसन्धान एजेन्सीको टोली पहलगाम पुगेको छ।
सोधपुछका लागि दर्जनौं व्यक्तिहरुलाई नियन्त्रणमा लिइएको छ। सो घटनाका कारण आज जम्मु कश्मीर बन्द छ। प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाको भर्तसना गर्दै आतंकवादीहरुलाई नछाड्ने चेतावनी दिएका छन्।