३ सन्तानको हत्यापछि आत्महत्याको प्रयास गरेकी पविता अस्पतालमा एक्लै, सम्पर्कमै छैनन श्रीमान

जनकपुर– धनुषाको शहीदनगर नगरपालिका–५ बासुदेवपट्टीकी ३० वर्षीया एक महिलाले सोमबार साँझ ३ जना नाबालक सन्तानलाई विष सेवन गराई आफुले पनि आत्महत्याको प्रयास गरीन।
घट्नाको जानकारीपछि उनीहरुलाई हतार–हतार अस्पताल त लगियो, तर तीनै जना बालबालिकाको ज्यान जोगिएन। विष सेवन गरेर आत्महत्याको प्रयास गरेकी उनीहरुकी आमा पविताकुमारी साहको स्थानीय रामजानकी अस्तालमा उपचार भईरहेको छ।
अस्पताल स्रोतका अनुसार उनी अझै पनि खतरामुक्त छैनन्। तर, परिवारले भने उनलाई पुरै वेवास्ता गरेको छ। अस्पतालमा मृत्युसँग जुधिरहेकी पवितालाई हेर्नसम्म पनि परिवारका सदस्य अस्पतालमा पुगेका छैनन्। पविताका श्रीमान् सुशिल अहिलेसम्म सम्पर्कमै नभएको जनाईएको छ।
आफन्त कोही नहुँदा उपचारमा समेत समस्या भईरहेको अस्पतालले जनाएको छ। ‘गर्भवतीसमेत रहेकी महिला सिकिस्त थिइन्। बच्चाको ज्यान जोगाउन पहिला शल्यक्रिया गर्नुपर्ने थियो। तर, सहमति दिने परिवारका मान्छे नभएका कारण निकै हैरानी खेप्नु पर्यो’ अस्पताल प्रशासनका कर्मचारी मिथलेश यादवले भने–‘करिव २ घण्टापछि जेठाजु नाता पर्नेले सहमति दिएपछि शल्यक्रिया गरेर बच्चालाई जोगाईयो।’
घरायसी विवादपछि पविताले तीन सन्तानलाई विष खुवाएर आफुले पनि विष सेवन गरेको सूचना प्रहरीले पाएको छ। विष सेवनबाट सोमबार नै पविताको ६ वर्षीय छोरा आदित्य तथा छोरीहरु ४ वर्षीया आकृति र २ वर्षीया आरुसीको मृत्यु भइसकेको छ।
पविताका बुबा रामचन्द्र साहका अनुसार छोरीलाई विगतमा पनि उनका पतिले कुटपिट गर्ने गरेका थिए। उनीहरुको करिव दश वर्षअघि विवाह भएको थियो। पविताका श्रीमान ट्याक्टर चालक हुन भने ससुरा नारायण साह निर्वाचित वडा सदस्य हुन।