हनिमुन मनाउन गएका नौसेनाका लेफ्टिनेण्ट कश्मिर आक्रमणमा मारिए, साता दिनमै पुछियो हिमान्सीको सिउँदो

काठमाडौँ– भारतको जम्मुकश्मिरस्थित पहलगाममा मंगलबार भएको आतंककारी हमलामा परी हनिमुन मनाउन गएका भारतीय नौसेनामा कार्यरत लेफ्टिनेण्ट विनय नरवालको पनि मृत्यु भएको छ।
विनय हरियाणा राज्यको कर्नाल जिल्लाका हुन्। दुई वर्षअघि बिटेक अध्ययन पूरा भएपछि उनी नौसेनामा भर्ती भएका थिए। हाल उनको दरबन्दी कोचीमा थियो। उनले एक साताअघि मात्रै गुरुग्रामकी हिमान्सीसँग विवाह गरेका थिए।
उनी हाल पीएचडी गरिरहेकी छिन्। उनका बुवा जीएसटीमा सुपरिन्टेन्डेन्ट छन्। हजुरबुवा अवकाशप्राप्त प्रहरी हुन्।
विनय र हिमान्सीको १६ अप्रिलमा बिवाह भएको थियो। १९ अप्रिलमा बिहेभोज (रिसेप्सन) गरेपछि उनीहरु हनिमुन मनाउन सोमबार कश्मिर गएका थिए। विनयले हनिमुनका लागि स्वीट्जरल्याण्ड जाने योजना बनाएका थिए। भिसाको प्रक्रियामा समस्या भएपछि उनीहरू स्वीट्जरल्याण्डको योजना बदले मिनी स्विट्जरल्यान्ड चिनिने कश्मिर गएका थिए।
विनय घरका एक्ला छोरा हुन। उनकी बहिनी भने युपिएससीको तयारी गरिरहेको हजुरबुबा हवासिंह नरवालले मिडियामा बताएका छन्। हनिमुनबाट चाँडै फर्केर परिवारका सबै सदस्यहरूसँग १ मेमा जन्मदिन मनाउने उनको योजना थियो।
मंगलबार श्रीमतीसँगै रहेका बेला उनीमाथि गोली प्रहार भयो। उनी ठाउँमै ढले। अहिले सामाजिक सञ्जालमा उनी ढलिरहेको फोटो भाईरल भईरहेको छ। फोटोमा विनय जमिनमा लडिरहेका छन्। एक महिला उनकै छेउमा शान्त बसेकी छन्। उनी विनयकी श्रीमती हिमान्सी भएको मिडियाले उल्लेख गरेका छन्।
बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा विनय मारिएपछि हिमान्शी अर्धबेहोस् भएकी थिइन्। गोली लागेर श्रीमान ढलेपछि रून त परै जाओस् बोल्नसम्म सकेकी थिइनन् भनेर भारतीय सञ्चारध्यमहरूले लेखेका छन्।
यो घट्नामा रूपन्देहीको बुटवल उपमहानगरपालिका–१४ का सुदीप न्यौपाने पनि मारिएको पुष्टि भएको छ। घट्नामा जम्मा २७ मारिएको जनाईएको छ।