निजामति कर्मचारी राखेरै भएपनि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने बोर्डको निर्णय, सीडीओलाई सक्रिय बनाईने

काठमाडौँ– राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा निजामति कर्मचारी राखेर भएपनि सञ्चालन गर्ने निर्णय गरेको छ। राष्ट्रिय परीक्षा बोर्डको बैठकको बिहान बसेको बैठकले परीक्षा नरोक्ने गरी यस्तो निर्णय गरेको हो।
शिक्षक तथा कर्मचारीको आन्दोलन र शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाका कारण कतिपयले कक्षा १२ को परीक्षा निर्धारित मितिमा हुनेमा शंका गरिरहेका बेला बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा नरोकिने र निर्धारित मितिमै हुने जानकारी दिए।
बैठकले सम्पूर्ण जिल्लाका परीक्षा समन्वय समिति मार्फत कक्षा १२ को परीक्षा केन्द्र भएका विद्यालयहरूलाई परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको छ। परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले पनि द्विविधा नराखी परीक्षाको तयारी गर्न अनुरोध गरेका छन्।
बैठकमा अधिकांश पदाधिकारीले परीक्षा जसरी पनि गराउने र यसको लागि सीडीओलाई थप सक्रिय बनाउनु पर्ने बताएका थिए। परीक्षा सञ्चालन जिल्ला समन्वय समितिको संयोजक सीडीओलाई नै परीक्षाको सबै जिम्मा दिने विषयमा छलफल भएको छ।
बैठकमा सबै शिक्षकहरू आन्दोलनमा नआएकोले ती केन्द्रमा शिक्षक नै केन्द्राध्यक्ष र निरीक्षक राख्न सकिने विषयमा छलफल भएको थियो।