सीके राउतले ‘मधेश आश्रम’ नामको घर र ‘मधेश लोट चले’ भन्ने नारामा पनि भ्रष्टाचार गरेको आरोप

काठमाडौँ– जनमत पार्टीका निलम्बित उपाध्यक्ष तथा अनुशासन आयोगका प्रमुख दीपककुमार साहले पार्टीका अध्यक्ष सीके राउतले गरेको भ्रष्टाचारको छानविन गर्न माग गरेका छन्।

निलम्बित कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई राउतकै योजनामा ठगी र आपराधिक विश्वासघातको कसूरमा पक्राउ गरिएको आरोप लगाएका साहले राउतका बारेमा १० बुँदे खुलासा गर्दै छानविन गर्न माग गरेका हुन। यादवलाई आईतबार सप्तरी प्रहरीले पक्राउ गरेर ललितपुर पठाएको छ।

साहले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै मधेश आश्रम नामको घर निर्माण सीके राउतकै योजनामा भएको र त्यस क्रममा करोडौं रकम उठाइएको दाबी गरेका छन्। अहिले सोही प्रकरणमा यादवलाई पक्राउ गराइएको उनले जनाएका छन्।

उनलाई समानुपातिकको सूचीमा राख्न ५० लाख मागिएको र सीके राउतको इमाडोलको घर बनाउन पनि ‘मधेश लोट चले’ भन्ने नारासहित भ्रष्टाचार गरिएको आरोप विज्ञप्तिमा छ।

‘पार्टी निर्माणमा जीवनको महत्वपूर्ण समय समर्पण गरेका सुरेन्द्र यादवलाई सप्तरी क्षेत्र नम्बर १ बाट टिकट नदिई संगठनमा कुनै योगदान नदिएका आफ्नै दाजुलाई उम्मेदवार बनाउनु वातावरण बिग्रनुको मुख्य कारण बन्यो। करोडौँ खर्चिएर जनकपुरमा घर निर्माणपछि पनि समानुपातिक सूचीमा समावेश गराउन ५० लाख मागिनु अन्यन्तै दुखद र अपारदर्शी व्यवहार हो।’– उनले विज्ञप्तिमा भनेका छन्।

अध्यक्ष राउतले इमाडोलमा घर बनाउनुअघि ‘मधेश लोट चले’ अभियान चलाएर उठाएको करोडौँ पैसा पनि अपारदर्शी रहेको र त्यसउपर सत्यतथ्य छानबिन गर्नुपर्नेसाहको माग छ । ‘पार्टीको कोषाध्यक्ष (यादव) को नाममा कुनै बैंक खाता नखोली अवैध रुपमा पार्टीको आर्थिक कारोबार हुनु गम्भीर प्रश्नको विषय हो’– उनले भनेका छन्।

सबै आर्थिक अनियमिततामा अध्यक्ष सीके राउतको संलग्नता रहेको भन्दै योजनाबद्ध षडयन्त्रको हिस्सा अनुरूप सुरेन्द्र यादवलाई आर्थिक लेनदेनमा पक्राउ गरेर राउतको भ्रष्टाचार लुकाउन खोजिएको उनले उल्लेख गरेका छन्।

पार्टीभित्र भएका सबै आर्थिक अनियमितताको घटनाबारे निश्पक्ष, स्वतन्त्र र विश्वसनीय छानबिन तथा अनुसन्धान हुनुपर्ने उनको माग छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट