१३ वर्षीया बालिका छोरी बलात्कार गर्ने बुबा र ८० वर्षीया आमा बलात्कार गर्ने छोरा पक्राउ

हेटौंडा — १३ वर्षीया बालिका छोरीलाई पटक पटक बलात्कार गरेको आरोपमा मकवानपुरमा एक ब्यक्ति पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय पालुङले आईतबार बेलुका थाहा नगरपालिकाका ३६ वर्षीय ती ब्यक्तिलाई पक्राउ गरेको हो। उनले गत कात्तिक महिनादेखि छोरीलाई बलात्कार गर्दै आएको खुलेको छ। पीडित बालिका उनकी जेठी श्रीमतीकी छोरी हुन। जेठी श्रीमतीले दोस्रो विवाह गरेर गएको खुलेको छ।
बाबुले पटक–पटक बलात्कार गरेको विषयमा बालिकाले फुपुलाई सुनाएपछि फुपुकै सहयोगमा इलाका प्रहरी कार्यालय पालुङमा उजुरी दिएकी थिइन्। सोही उजुरीका आधारमा पीडक बाबुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
थाहा नगरपालिकामै गत महिला एक ब्यक्तिले ८० वर्षीया आमालाई बलात्कार गरेको आरोप लागेको थियो। थाहा नगरपालिका– १२ का ती व्यक्तिलाई इलाका प्रहरी कार्यालय पालुङले पक्राउ गरेको थियो। प्रहरीले दुवै आरोपीलाई हाडनाता करणीको मुद्दा चलाएको छ।