पाथिभरा जाँदै गरेको जिपमा करेण्ट लागेर आगलागी हुँदा ४ जनाको मृत्यु, आमाछोरा घाईते

विराटनगर– ताप्लेजुङको फुङलिङबाट पाथीभरा जाँदै गरेको जिपमा सोमबार विहान बिजुलीको पोलबाट करेन्ट लाग्दा ४ जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
मे १ च ३०११ नम्बरको बोलेरो जिप फुङलिङ नगरपालिका–१० को सेवारो चोक भन्ने स्थानमा बिजुलीको पोलबाट लत्रिएको तारमा अल्झिएर आगो लागेको थियो। घटनामा ४ जनाको मृत्यु भएको र २ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।
कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् एसएसपी भीमबहादुर दाहालका अनुसार गम्भीर घाइते दुबै जनालाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ। दाहालका अनुसार मृतक र घाइतेको परिचय खुलिसकेको छैन।
मृतक दुई पुरुष र दुई महिला छन्। घाईते भने आमा छोरा रहेको खुलेको छ। छोरा १० वर्षका छन्। उनीहरुलाई थप उपचारका लागि लैजान हेलिकोप्टर झिकाउने प्रयास भइरहेको जनाईएको छ।
जीप यात्रु लिएर बिहान करिब ५ बजेतिर सदरमुकाम फुङलिङबाट हिँडेको थियो।