यौन दुर्व्यवहारमा परेकी दलित युवतीको मृत्यु प्रकरणः प्रहरीले दर्ता गरेको जाहेरी किन गर्यो रद्द ?

लहान– यौन दुर्व्यवहारमा परेको ४ महिनासम्म पनि न्याय नपाएकी सिरहाको नवराजपुर गाउँपालिका–३ जगतपुर दोनवारी टोलकी एक दलित युवती गत मंगलबार घरमै मृत फेला परिन।
नरहा गाउँपालिकाको बर्छबा घर भई स्थित माईतीमा बस्दै आएकी मुसहर समुदायकी २४ वर्षीया आनन्दीदेवी सदायको शव दिउँसो करिव ३ बजे झुन्डिएको अवस्थामा फेला परेको थियो। उनकी २ वर्षकी छोरी छिन्।
आनन्दीमाथि गत ९ पुसमा माईती गाउँमै बलात्कारको प्रयास भएको थियो। मृत्यु अघि उनले न्यायका लागि सक्दो प्रयास गरेको तर, प्रहरीसमेतको मिलेमतोमा घट्नालाई गिजोलिएको खुलासा भएको छ।
उनको मृत्युका पछाडि पीडक र समाजमात्र होईन, उनका पति उमेश सदाय र प्रहरीसमेतको भुमिकामाथि प्रश्न उठेको छ। बलात्कारको प्रयासपछि गाउँलेले पैसा लिएर मिल्न दबाब दिएको, प्रहरीले पीडकको पक्षमा लागेर जोहरी दर्ता नगरेको तथा पतिले घट्नापछि बोलचालनै वन्द गरेकोसम्का तथ्य वाहिर आईरहेका छन्।
प्रहरीले त झन गाउँमा मिलापत्र गर्न भन्दै दर्ता गरेको जाहेरीसमेत रद्द गरेर वेईजत गरेको खुलासा भएको छ। आनन्दीकी आमा बिल्टौनका अनुसार घट्ना भएकै दिन आरोपितहरु इलाका प्रहरी कार्यालय, महेशपुर पतारमा पुगेर स्थानीय ३२ वर्षीय श्यामसुन्दर यादव र २२ वर्षीय सञ्जीवकुमार यादव विरुद्ध ‘जबरजस्ती करणी उद्योग’ शीर्षकमा जाहेरी दिएका थिए।
तर, प्रहरीले कानुनी प्रक्रिया अगाडि बढ्नुको साटो आर्थिक लेनदेन गरी घटना गाउँमै मिलाउन प्रयास गरेको खुलेको छ। यद्यपी, जाहेरी दिएको करिव एक महिनापछि (४ माघ) प्रहरीले पीडित परिवारलाई बोलाएर जाहेरी दर्ता भएको भरपाई दियो। प्रहरी हबलदार मनोजकुमार यादवले जाहेरी दर्ता गरेको थिए। ‘मुद्दा नम्बर ४० मा जाहेरी दर्ता भएको’ पीडित परिवारलाई दिईएको भरपाईमा उल्लेख छ।
तर त्यसको बिहानैपल्ट नै पुनः बोलाएर गालीगलौज गर्दै उक्त भरपाई प्रहरीले च्यातिदिएको बिल्टौनले बताएकी छिन्। ‘प्रहरीले अब केही हुन सक्दैन, केही पैसा लिएर गाउँमै मिल्नु भन्यो’–उनले भनिन्।
प्रहरीले पनि जाहेरी दर्ता गरेर रद्द गरिएको स्विकार गरेको छ। इलाका प्रहरी कार्यालय महेशपुर पतारका इन्स्पेक्टर रविनराज मैनालीले जिल्लाबाट थप अनुसन्धान गरेर मात्रै अगाडि बढ्न निर्देशन आएपछि दर्ता भएको जाहेरी बदर गर्नु परेको बताएका छन्। ‘मुद्दा फाँटका प्रहरीले थाहै नपाएर जाहेरी दर्ता गरे। जिल्लाबाट अर्को आदेश भएपछि त्यसलाई बदर गर्नुप¥यो।’– मैनालीले भने।
प्रहरीले दर्ता भइसकेको मुद्दा बदर गरिदिएपछि निरास भएका पीडित परिवारले दलितका अगुवाहरूलाई गुहारेपछि २५ फागुनमा फेरी मुद्दा दर्ता भएको थियो। २६ फागुनमा सिराहा जिल्ला अदालतबाट पक्राउ पुर्जी पनि जारी भयो। तर पीडकहरु अहिलेसम्म पक्राउ परेका छैनन्।
अर्कोतर्फ यो घट्नापछि आनन्दीका पति पनि श्रीमतीसँग बोल्न छोडेका थिए। घटना भएकै दिन बिल्टौनले फोन गरेर उनलाई जानकारी गराएकी थिईन। उनीसहित मिलेर प्रहरीमा जाहेरी दिईएको थियो। तर, पछिल्लो समय उनी बोल्न छोडेपछि आनन्दी तनावमा थिईन।
बिल्टौनका अनुसार ९ पुसको बिहान करिव ११ बजे आनन्दी बरियारपट्टी गाउँपालिका–१, नर्गीमा रहेकी आफ्नी दिदीलाई भेट्न जाँदै थिईन। गाउँकै पोखरी छेउमा पुगेपछि स्थानीय ३२ वर्षीय श्यामसुन्दर यादव र २२ वर्षीय सञ्जीवकुमार यादवले उनलाई यौन प्रस्ताव राखे। नमानेपछि घेरा हालेर लछारपछार गर्दै नजिकैको आँप बगैँचामा लगेर बलात्कार गर्न खोजेका थिए। उनीहरुको प्रतिवाद गरेर आनन्दी घर पुगेकी थिईन।