वर्षाका कारण अफगानिस्तानसँगको खेल रद्द भएसँगै नेपालको विश्वकप खेल्ने सपना अधुरै

काठमाडौँ– आइसिसी यू–१९ विश्वकप एसिया छनोटमा नेपाल र अफगानिस्तानबीचको खेल रद्द भएको छ। योसँगै नेपाल यू–१९ विश्वकपमा पुग्न असफल भएको छ।
शनिबार बिहानदेखि भएको वर्षाका कारण मैदान भिजेकाले खेल रद्द भएको हो। पानी रोकिए पनि मैदान नसुकेपछि खेल रद्द गरिएको छ। खेल रद्द भए नेपाल र अफगानिस्तानले छनोट प्रतियोगितामा तीन–तीन खेल जिते पनि रन रेटका आधारमा शीर्षस्थानमा रहँदै अफगानिस्तान विश्वकपका लागि छनोट भएको हो।
सन् २०२६ मा जिम्बावे र नामिबियामा हुने आईसीसी यू–१९ विश्वकपमा एसिया छनोटमा सहभागि हुने नेपालको झिनो आशा पनि समाप्त भएको छ। गत वर्ष दक्षिण अफ्रिकामा नेपाल र अफगानिस्तान दुवै टोलीले विश्वकप खेलेका थिए। नेपालले त्यसअघि सन् २००२ देखि २००८ सम्म पनि लगातार विश्वकप खेलेको थियो।
तर त्यसपछि २०१२ र २०१६ मा मात्रै विश्वकपमा पुगेको थियो। नेपालले बुधबार १२.३ ओभरमै हङकङलाई ९ विकेटले हराउँदा अफगानिस्तानले यूएईलाई १८० रनले जितेको थियो। यसअघि अफगानिस्तानले हङकङ र नेपालले ओमानलाई समान ८ विकेटले त्यो पनि १३औँ ओभरमा हराएका थिए।
नेपालले यूएईविरुद्ध कठिन जित हात पा¥यो भने अफगानिस्तानले पहिलो खेलमा ओमानलाई सहजै हराएको थियो।