साथीले बोकेको बन्दुकको गोली लागेर आफै सिकार भए सिकारी

काठमाडौँ– कपिलवस्तुको बुद्धभुमी नगरपालिकामा सिकार खेल्न गएका एक युवक साथीले बोकेको बन्दुकको गोली लागेर आफैं सिकार भएका छन्। बुद्धभुमी नगरपालिका–९ गब्दहवाका २८ वर्षीय समुन्द्र गाहा मगरको गोली लागेर मृत्यु भएको हो।
गाउँका साथीहरु ३४ वर्षीय रामबहादुर थारु र ३६ वर्षीय राम थारु (कालु) सँग सिकार खेल्न गएका उनलाई गब्दहवादेखि करीब ६ किलोमिटर उत्तर तर्फ कपिलवस्तु र अर्घाखाँचीको सिमानामा रहेको बुद्ध यशोधरा सामुदायिक बनमा भरुवा बन्दुकको गोली लागेको हो।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार घट्ना आईतबारको हो। उनलाई बन्दुक पड्किएर छर्राले खुट्टामा लागेको थियो। जंगलमा गाडीको आवाज सुनेपछि भाग्दै गर्दा राम थारुले बोकेको बन्दुक पड्किएर समुन्द्रको खुट्टामा लागेको जनाईएको छ।
अत्यधिक रक्तश्राव भएका समुन्द्रको उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।
समुन्द्रसँगै शिकार खेल्न गएका राम बहादुर थारु, राम थारु र हातहतियार लुकाउन सहयोग गर्ने प्रवेश थारुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गोरुसिंगेका इन्स्पेक्टर विरबहादुर सुनारले जानकारी दिए। प्रहरीले २ नाल भरुवा बन्दुक पनि बरामद गरेको छ।
बरामद गरिएको एउटा बन्दुक फायर भएको अवस्थामा र अर्को लोड गरिएको अवस्थामा लुकाइ राखिएको अवस्थामा बरामद गरिएको सुनारले बताए।