श्रीमानको यौन उत्पीडनका कारण चितवनमा ३२ वर्षीया महिलाको मृत्यु, अपाङ्ग छोरा र नाबालिका छोरीको विचल्ली

चितवन– विरामी अवस्थामा श्रीमानको यौन उत्पीडन सहन नसकेर चितवनमा एक महिलाको मृत्यु भएको खुलासा भएको छ। भरतपुर महानगरपालिका २ मा वस्दै आएकी ३२ वर्षीया महिलाको २६ चैतमा अस्पतालमा मृत्यु भएको हो।
सिन्धुपाल्चोक माईती र काभ्रेपलाञ्चोक घर भएकी ति महिला चितवनकै भरतपुर अस्पतालमा जन्मिएकी हुन्। उनका परिवारले बसाइँसराई ल्याएका छैनन्। तर, पहाडमा पनि उनीहरुको सम्पत्ति छैन। यतै विवाह गरेकी उनी वर्षौदेखि श्रीमानसँग कोठा भाडामा वस्दै आएकी थिईन।
स्थानीयका अनुसार श्रीमान सदाबहार रक्सीको नसामा रहने गरेका कारण ज्याला मजदुरी गरेर उनले नै परिवार पाल्दै आएकी थिईन। एक वर्ष अघिदेखि उनलाई फोक्सो र दमको रोगले थला पारेको थियो। तर, उनले श्रीमानको साथ पाउनु भन्दा पनि सधैं यातना खेप्नु परेका कारण उनको अकालमै ज्यान गएको स्थानीयहरु बताउँछन्।
पृथ्वी दोग्दी टोल विकास समितिका अध्यक्ष दिपकबाबु विष्टका अनुसार श्रीमानको यातनाकै कारण उनको पाठेघरमा संक्रमण भएको थियो। उपचार गर्न नपाउँदा पाठेघरको संक्रमण यौनाङ्गको बाहिरी क्षेत्रमा समेत फैलिएको थियो। तर, रक्सीले मातेर घरमा आउने श्रीमानले महिलामाथि सधैं अत्याचार गर्ने गरेको खुलेको विष्टको भनाई छ।
अति नै भएपछि महिलाले गत १९ चैतमा श्रीमान विरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएकी थिइन्। वैवाहिक बलात्कार, यौन हिंसा र घरेलु हिंसासमेतको जाहेरीपछि प्रहरीले महिलालाई उपचारका लागि तत्कालै भरतपुर अस्पताल पठाएको थियो।
उपचारकै क्रममा २६ चैतमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी राजन लिम्बुले वताए। ‘उनी निकै नाजुक अवस्थामा प्रहरी कार्यालय आईपुगेकी थिईन। मैले तत्कालै उपचारका लागि पठाएको थिए। तर,साता दिनमै मृत्यु भएको खबर आयो।’– एसपी लिम्बुले भने।
मृतक महिलाका १८ वर्षका छोरा र १२ वर्षकी छोरी छन्। जन्मजात बहुअपाङ्गता भएका छोरा आँखा नदेख्ने, बोल्न नसक्ने र हिँड्न पनि नसक्ने छन्। मानसिक रुपमा पनि उनी अस्वस्थ रहेको विष्टले बताए।
४ कक्षा पढ्दै गरेकी छोरी आमाको किरिया गर्न वसेकी छिन्। श्रीमानलाई भने प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ। उनको अपराधबारे अनुसन्धान भइरहेको एसपी लिम्बुले बताए।