ग्रिल फ्याक्ट्रीको मजदुरदेखि राजावादी आन्दोलनको कमाण्डरसम्मः यस्तो छ दुर्गा प्रसाईको उतार–चढाव

काठमाडौँ– १५ चैतको तीनकुनेमा आयोजित राजावादी प्रदर्शनलाई हिंसात्मक बनाएर भागेपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईँ दुई साता राष्ट्रिय चर्चाको विषय बने। आन्दोलन भड्किएपछि सटरमा लुकेर बसेका तथा ‘म डराउँदिन र भाग्दिँन’ भन्दै भागेर भारत पुगेका उनलाई नियन्त्रणमा लिएर शुक्रबार नेपाल ल्याईएको छ।
भारतीय प्रतिजासुसी संस्था इन्टेलिजेन्स ब्यूरो (आईबी) को सहयोगमा भारतको आसामस्थित बक्सा जिल्लाबाट विहिबार नियन्त्रणमा परेका प्रसाईँ निकासी बन्ने ठाउँमा बसिरहेका थिए। यो ठाउँ भुटानको सीमानाबाट करिब ५ किलोमिटरको दूरीमा पर्छ। विशेष युनिट ब्युरोका प्रमुख डीआईजी सिद्धिविक्रम शाहको नेतृत्वमा नेपाल प्रहरीको ४ वटा टोलीले लगातार रेकी गरेर प्रसाईलाई नेपाल फर्काएको हो।
प्रसाई पक्राउ परेसँगै अहिले धेरैको मनमा उनको बारेमा कतिपय जिज्ञासा छन्। कुनै समय कांग्रेस, त्यसपछि माओवादी र एमाले बनेका प्रसाईँ पछिल्लो समय एकाएक राजा फर्काउने अभियानमा छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई अभिभावक मान्दै किरियासमेत गर्ने बताएका र त्यसपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हजुरबुबा भन्दै एमाले बनेका प्रसाईँ विभिन्न पार्टी चहार्दै कसरी राजावादी वने र किन उग्र भए भन्ने लभभग धेरैलाई जानकारी छ।
खासगरी ०७४ साल फागुन ३ गते भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–६, कमेरोटारस्थित आफनै घरको एउटै डाइनिङ टेबुलमा माओवादी अध्यक्ष दाहाल र एमाले अध्यक्ष ओलीलाई काँस (झर्के) को थालमा मार्सी चामलको भात खुवाएपछि चर्चामा आएका प्रसाईँको त्यसपछिको हरेक कृयाकलापका बारेमा नेपाली जनता जानकार छन्। तर, त्यसअघिको उनको जिवनको उतार चढावका विषयमा भने धेरैलाई जानकारी छैन।
झापाको विर्तामोडमा बीएण्डसी टिचिङ र पूर्वाञ्चल क्यान्सर हस्पिटल सञ्चालन गरेका प्रसाईँ तेह्रथुमको आठराईमा सामान्य किसान परिवारमा जन्मिएका ब्यक्ति हुन। उनको जन्म ८ वैशाख ०२८ मा भएको हो। उनका बुबा कृष्णप्रसाद प्रसाईं र आमा कौशिला हुन। उनी सानैदेखि रिसाहा स्वभावका रहेको उनलाई जान्नेहरु बताउँछन्।
शैक्षिक योग्यताको कुरा गर्दा उनी ८ कक्षा फेल हुन। ८ कक्षामा पढ्दा शिक्षकलाई अभद्र व्यवहार गरेपछि कारवाहीमा परेका उनले त्यसपछि विद्यालयनै टेकेनन। पहाडमा जिवन धान्न असहज भएपछि उनको परिवार तेह्रथुमबाट झापाको शनिश्चरे बजारनजिकै बसाइँ सरेको थियो।
झापा झरेपछि प्रसाईंको विवाह सानै उमेरमा उमा गिरीसित भयो। उमाका एक जना भाई छन्। उनीहरुका आमा भने फरक (सौतेनी) हुन। गिरी परिवार झापाको प्रसिद्ध गिरीबन्धु टि–इस्टेटका धनीका आफन्त हुन। प्रसाईले त्यो बेला ससुराली घर रहेकै ठाउँमा अहिले बीएण्डसी अस्पताल सञ्चालन गरेका छन्। अस्पतालको नाम पनि ससुरा (भगवान गिरी–बी) र सासु (चन्द्रमाया गिरी– सी) कै नाममा छ।
प्रसाईले सुरुवाती चरणमा जिविका चलाउन झापामा ग्रील फ्याक्ट्रीमा काम गरेका थिए। पछि रोजगारीका लागि युरोप छिरे। त्यहाँ भैँसी फारममा काम गरेका उनले नेपाल फर्किएर बैंकबाट ऋण लिई भैँसी फारमनै खोले। उनले भारतको हरियाणाबाट उन्नत नश्लका भैँसी ल्याएर पाले। फारममा करिब १ सय भैँसी थिए। उनी भैँसीका पाडा/पाडीसँगै दूध बेच्थे। केही समय भैँसी फारम राम्रै चलेपनि पछि आर्थिक समस्या आउन थाल्यो। बैंकको कर्जा मात्र होईन, ब्याज तिर्न पनि गाह्रो पर्यो।
त्यसैबेला उनको ससुरालीमा पनि अंशको विषयलाई लिएर ठुलो झमेला थियो। उमाका भाईले बुबाविरुद्ध अंश मुद्दा हालेका थिए। यही समयमा उनी तत्कालीन विद्रोही नेकपा माओवादीमा लागेर भुमिगत भएका थिए। बुबाआमा नेपाली कांग्रेससँग आस्थावान रहेपनि उनले माओवादी बनेर ससुरालीलाई थर्काई पोख्त फाईदा लिएको आरोप समेत लाग्ने गरेको छ।
युद्धकालमा उनलाई सेनाले केही महिना हिरासतमा राख्यो। परिवार र आफन्त नेपाली कांग्रेससँग जोडिएकाले उनीहरूकै सिफारिसमा प्रसाईँ रिहा भए। २०६२/0६३ सालमा राजतन्त्र ढाल्ने आन्दोलनमा लागेका प्रसाईं सक्रिय भएर लागेका थिए। यता, माओवादी लगाएर सालालाई अंश दिलाएपछि सालासँगै मिलेर प्रसाईँले जग्गा प्लटिङको काम सुरु गरे। घडेरी बेचेर खुब पैसा कमाए।
अनि बिर्तामोडमा बीएण्डसी मेडिकल कलेजको काम सुरु गरे। त्यही बेला प्रसाईंले भक्तपुरमा सानदार घर बनाएका हुन्। कलेजको काम सुरु गरे पनि सम्वन्धन दिलाउन निकै संघर्ष गरे। नसेपछि उनले प्रचण्ड र ओलीलाई मिलाएर फाईदा लिने योजना बनाए। त्यही बेला उनले घर बोलाएर दुवैलाई लञ्ज मिटिङ गराए।
यही मिटिङपछि एमाले र माओवादी मिलेर नेकपा बन्यो। तर ओली–प्रचण्डको शक्ति लगाएर मेडिकल कलेज सम्बन्धन लिने उनको उद्देश्य पुरा भएन। आफ्नो मेहेनत काम नलागेपछि उनी आफैं राजनीतिमा सक्रिय हुन थाले। नेकपा विघटन हुँदा उनी ओलीतिर लागे।
ओलीले १०औँ महाधिवेशनपछि प्रसाईंलाई केन्द्रीय सदस्य मनोनीत गरेर उद्योग विभागको उपप्रमुखसमेत बनाए। तर, मेडिकल कलेजको सम्बन्धन लिन सकेनन्। ०७९ सालमा झापाबाट प्रतिनिधिसभा निर्वाचनमा टिकट लिन खोजे। तर पाएनन्। त्यसपछि उनले विद्रोह सुरु गरे। उनलाई एमालेले पार्टीबाट निकाल्यो।
यसैविच चैत २०८० मा सर्वोच्च अदालतले आवश्यक प्रक्रिया पूरा गरेको भए बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश दियो। यद्यपी उनले राजनीतिक यात्रा रोकेनन्। पूर्वराजा ज्ञानेन्द्र र उनको परिवारलाई सहभागि गराएर धर्मसापेक्ष राज्यसहित राजसंस्था फर्काउने अभियानको घोषणा गरे।
सुरुमा बैंक तथा वित्तीय संस्था र लघुवित्त पीडितको न्यायका लागि भन्दै सुरु गरेको ‘नागरिक बचाऊ अभियान’लाई उनले राजसंस्था र धर्मसापेक्षताको माग थपेर ‘राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति तथा नागरिक बचाऊ महाअभियान’ बनाए।
अहिले उनलाई बैंकको ऋण नतिर्नका लागि ब्यवस्था विरोधी अभियानमा लागेको आरोप लाग्ने गर्छ। अपुष्ट रिपोर्टहरूअनुसार, विभिन्न बैंक र वित्तीय संस्थाबाट उनीमाथि ७ अर्ब रुपैयाँको कर्जा छ। उनको बीएण्डसी टिचिङ र पूर्वाञ्चल क्यान्सर हस्पिटल भने छोरा डा. निरञ्जन प्रसाईं र छोरी डा. चन्दा प्रसाईंले सञ्चालन गरिरहेका छन्।