भीडीओमा देखिएको मन्दिर भएकै घरबाट दुर्गा प्रसाईं पक्राउ, यसरी पुग्यो पाठकको घरमा प्रहरी

काठमाडौँ– १५ फागुनमा काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक घटनाका मुख्य अभियुक्त मानिएका दुर्गा प्रसाईं बिहिबार आसामबाट पक्राउ परेका छन्।

प्रसाईंका चालकले आसामसम्म पु¥याएको बयान दिएपछि प्रहरीको टोली भारत पुगेर अनुसन्धानमा समन्वय गरिरहेको थियो। प्रसाई आसाममा पाठक थरका व्यक्तिको घरमा बसेका थिए। उनलाई त्यहीँबाट पक्राउ गरिएको हो।

तीनकुने घटनाको तीन दिनपछि १८ चैतमा प्रसाईंले आफू काठमाडौँमै रहेको भन्दै फेसबूकमार्फत भिडिओ सार्वजनिक गरेका थिए। त्यो भिडियो सन्देशको पृष्ठभूमिमा मन्दिर समेत देखिन्छ। त्यो मन्दिर उनी बसेकै घरको रहेको प्रहरी स्रोतको भनाइ छ।

स्रोतका अनुसार भारतीय प्रतिजासुसी संस्था इन्टेलिजेन्स ब्यूरो (आईबी) को सहयोगमा प्रसाईं पक्राउ परेका हुन। आईबीले प्रसाईंलाई नियन्त्रणमा लिएपछि नेपाल प्रहरीको विशेष ब्यूरोको दोस्रो टोली भारत गएको छ। प्रहरीको अर्को टोली भने केही दिनअघिदेखि नै आईबीसँगको समन्वयमा भारतमै छ।

भारतसँग सुपुर्दगी सन्धि नभएकाले अनौपचारिक तवरमा आपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई दुई देशका सुरक्षा निकायले समन्वय गरेर पक्राउ गर्दै आएका छन्। त्यसैले प्रहरीले प्रसाईं पक्राउको औपचारिक जानकारी दिएको छैन।

तर, प्रसाईंको सचिवालयले चलाउने फेसबूक आईडीमा पनि उनले भारतमा प्रहरीसामु आत्मसमर्पण गरेको दाबी गरिएको छ। ‘हिजोमात्र हामीले सुरक्षाको ग्यारेन्टी भए २४ घण्टाभित्र उपस्थित हुन्छौं भनेका थियौं र आज उपस्थित भयौं’– फेसबुकमा लेखिएको छ।

प्रसाईंलाई पूर्व राजा ज्ञानेन्द्र शाहले राजसंस्था फर्काउने अभियानको कमान्डर तोकेका थिए। चैत १५ गते प्रसाईंको कमान्डमै भएको आन्दोलन हिंसात्मक बन्दा एक जनाको प्रहरीको गोली लागेर र अर्को एक जनाको प्रदर्शनकारीले भवनमा लगाएको आगोमा जलेर ज्यान गएको थियो। प्रहरीको गोली लागेर २० जना घाइते भएका छन्।

प्रदर्शनकारीले निजी सम्पति, व्यापारिक भवनदेखि राजनीतिक दलको पार्टी कार्यालयमा समेत आगाजनी, तोडफोड र लुटपाट मच्चाएका थिए। पक्राउ परेका व्यक्तिहरू विरुद्ध आपराधिक उपद्रव, राज्यद्रोह र संगठित अपराधको कसूर लगाएको छ।

प्रसाईं १५ गते तीनकुनेबाट भागेर सुरुमा इमाडोलमा रहेको पुस्कर खतिवडाको घरमा पुगेका थिए। त्यहाँबाट ५ बजेर २५ मिनेटमा उनी निस्किएका थिए। त्यसपछि भक्तपुरको नाला हुँदै ८ बजेर ५० मिनेटमा धुलिखेल पुगेका थिए। त्यसपछि बिहान सवा ५ बजेतिर उनी झापााको बिर्तामोडमा रहेको बिएण्डसी अस्पताल पगेको थिए।

त्यहाँबाट उनले काठमाडौँबाट लगेको जीप र चालकलाई फर्काएका थिए। प्रसाईं भागेको रुट ट्रयाक गर्दै प्रहरी झापामा पुगेको थियो। प्रहरीले प्रसाईं चढेको गाडी इटहरीबाट नियन्त्रणमा लिएको थियो। १६ चैतको बिहान साढे ९ बजे उनी काकडभिट्टा नाका हुँदै भारतको सिलगुडी पुगेको खुलेको थियो। सिलिगुडीबाट उनी बस्ती भन्ने ठाउँमा पुगेको र असाम हुँदै दिल्ली पुगेर पुनः आसाम फर्केको जनाईएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट