क्षमता भन्दा वढि यात्रु बोकेको पिकअप भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु, २२ जना घाईते

काठमाडौँ– रूपन्देहीमा क्षमताभन्दा वढि यात्रु बोकेको पिकअप भ्यान सोमबार साँझ दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मन्दिरमा धार्मिक कार्यक्रम सम्पन्न गरी फर्किने क्रममा रहेका २४ जना यात्रु बोकेको भ्यान दुर्घटनामा परेको हो।
लुम्बिनी सांस्कृतिक नगरपालिका–७, भरवलिया स्थित मोडमा लु१च २७६३ नम्बरको पिकअप भ्यान पल्टिँदा एक बालिकासहित दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। घट्नामा २२ जना घाइते भएका छन्।
दुर्घटनामा गैंडहवा गाउँपालिका–१ शिवपुरवाकी १२ वर्षीया अस्मिता यादव र शुद्धोधन गाउँपालिका–६ मानमटेरियाकी ४८ वर्षीया जानमती यादवको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार घाइते २२ मध्ये तीन जनाको लुम्बिनीस्थित लाइफ केअर अस्पताल र १९ जनाको भैरवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज रानीगाउँमा उपचार भइरहेको छ।
तीव्र गतिमा गुडिरहेको भ्यान मोडमा पुगेपछि अनियन्त्रित भई पल्टिएको स्थानीयले जानकारी दिएका छन्। यात्रुहरु लुम्बिनीस्थित मायादेवी मन्दिरबाट मुण्डन संस्कार सकेर घर फर्कने क्रममा थिए।
भ्यान चालक कपिलवस्तुको शुद्धोधन गाउँपालिका–४, बिठुवाका २६ वर्षीय अशोक पासीलाई प्रहरीले पक्राउ गरेको छ।