सिरहामा १३ वर्षीया बालिकाको हत्या आरोपमा २४ वर्षीय युवक पक्राउ

लहान – सिरहाको गोलबजार नगरपालिका–९ गोविन्दपुरकी १३ वर्षीया बालिकाको हत्या गरेको आरोपमा प्रहरीले २४ वर्षीय युवकलाई पक्राउ गरेको छ।
१३ वर्षीय बालिका गुलसना खातुनको हत्या आरोपमा प्रहरीले स्थानीय २४ वर्षीय वीरबहादुर सार्कीलाई आईतबार पक्राउ गरेको हो। सार्कीलाई प्रहरीले सोमबार जिल्ला अदालतमा उपस्थित गराई अनुशन्धानका लागि सात दिनको म्याद लिएको छ।
हत्याको प्रकृति र कारण बारे प्रहरीले केही खुलाएको छैन। गएको २९ फागुनमा घरबाट आमा सँगै घाँस काट्न गएकी गुलसना १२ चैतमा मृत फेला परेकी थिईन। गोलबजार नगरपालिका–९ स्थित घुर्मी खोला किनारमा उनको शव फेला परेको थियो।
यता, छोरी घर नफर्किएपछि उनकी आमा जेहदा खातुनले खोजतलासका लागि इलाका प्रहरी कार्यालय मिर्चैयामा निवेदन दिएकी थिइन्। खोजतलासका क्रममा उनको शव प्लास्टिकको बोराभित्र पोको पारेर फालिएको अवस्थामा फेला परेको थियो।
प्रहरीले घट्नाको अनुशन्धान गरिरहेको छ। बालिकाका पिता बेचन अलि छोरी हराउनु दुई दिनअघि मात्रै वैदेशिक रोजगारीका लागि कतार गएका छन्।