शौचालय जान खोज्दा बसले ठक्कर दिएर उदयपुरका प्रधानको मृत्यु

राजविराज — पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–९ स्थित खरङ्गामा बसले ठक्कर दिँदा उदयपुरका एक ब्यक्तिको मृत्यु भएको छ।
काठमाडौँबाट उपचार गरेर घर फर्किँदै गरेका त्रियुगा नगरपालिका–२ मोथियाहीका ५८ वर्षीय जितबहादुर प्रधानको सोमबार बिहान बसको ठक्करबाट मृत्यु भएको हो। बागमती प्र ०१–००६ ख ६७१६ नम्बरको बसमा घर फर्किदै गरेका प्रधानलाई शौचालय गर्न बाटो काट्ने क्रममा बसले ठक्कर दिएको थियो।
विपरीत दिशाबाट आइरहेको ना ८ ख १८०९ नम्बरको बसले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मकवानपुरका डीएसपी श्यामु आर्यालका अनुसार दुर्घटनामा परी उनको टाउको, छाती र दाहिने खुट्टामा चोट लागेको थियो।
प्रधानलाई प्रहरीले हेटौंडा अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। ठक्कर दिने बसका चालक धादिङ सिद्वलेक गाउँपालिका–३ का २६ वर्षीय मोहन थापालाई प्रहरीले पक्राउ गरेको छ।