उपचार खर्च ब्यहोर्नु पर्ने चीन्ताले काकाको हत्या, दुर्घटना भनिएको घट्नाको यसरी भयो पर्दाफास

काठमाडौँ– एक वर्षअघि साईकलबाट लडेर घाईते भएका काकाको उपचार खर्च ब्यहोर्नु पर्ने चिन्ताले दाङको बैजनाथ गाउँपालिका– २ गुनापुरका २४ वर्षीय लौटन थारुले काकाकै हत्या गरेको खुलासा भएको छ।
लौटनका काका ६६ वर्षीय मुसुवा थारू आईतबार साँझ घाईते अवस्थामा फेला परेका थिए। टाउको र अनुहारमा गम्भीर चोट लागेका उनको कोहलपुरस्थित मेडिकल कलेजमा उपचारका क्रममा राति ११ बजे मृत्यु भएको थियो।
गुनापुर चोकबाट साइकलमा घर जाँदै गरेका थारूलाई मोटरसाइकलले ठक्कर दिएको आशंका गरिएको थियो। तर, ठक्कर दिएको मोटरसाइकल फेला नपरेपछि प्रहरीले उनिमाथि कुटपिट भएको हुन सक्ने अनुमान लगायो।
त्यसपछि इलाका प्रहरी कोहलपुररले सोमबार बिहान लौटनलाई पक्राउ गरेर सोधपुछ गरेको थियो। त्यस क्रममा उनले काकाको हत्या गरेको स्वीकार गरेका थिए। आफूले ढुंगाले हानेर मुसुवाको हत्या गरेको उनले प्रहरीलाई बयान दिएका छन्।
जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी दीपक पातलीका अनुसार गत वर्ष लौटनले नै मुसुवालाई जानाजान साइकलबाट धकेलेर लडाइदिएका थिए। साईकलबाट लडेर उनको खुट्टा भाँचिएको थियो।
त्यसबेला उपचारमा खर्च भएको करिव ५५ हजार रुपैयाँ माग्न थालेपछि लौटनले मुसुवाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। काकाको हत्या नै गर्ने योजना बनाएर लौटन बाटो ढुकेर बसेको देखिएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको डीएसपी पातलीले जानकारी दिए।