रवि लामिछानेलाई कारागारको सिंगल ब्लकमा राखियो, अदालतको आदेश लगत्तै तयार गरिएको थियो छुट्टै कक्ष

काठमाडौँ– रास्वपा सभापति एवम् पूर्वगृहमन्त्री सोमबार रुपन्देही जिल्ला कारागार चलान भएका छन्। सोमबार बिहान उच्च अदालत तुलसीपुरको बुटवल इजलासबाट आदेशको मिसिल प्राप्त भएपछि प्रहरीले उनलाई जिल्ला अदालत पेस गरेको थियो।
गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने अदालत पुर्याउने बित्तिकै थुनुवा पूर्जी दिएर कारागार पठाईएको हो। कारागारमा लामिछानेको स्वास्थ्य परीक्षण पूरा गरि ब्लक नम्बर ४ मा राखिएको छ। उक्त कारागारमा अहिले लामिछानेमात्रै रहेको प्रशासक भण्डारीले बताए।
‘उहाँको स्वास्थ्य अवस्था नर्मल छ,’ उनले भने, ‘पूर्व गृहमन्त्री लामिछानेलाई अहिले ब्लक नम्बर ४ मा राखेका छौं। अहिले उक्त ब्लकमा उहाँमात्रै थुनुवा हुनुहुन्छ।’– उनले भने। स्रोतका अनुसार उच्च अदालतले लामिछानेलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश गरेपछि जिल्ला कारागारमा उनका लागि छुट्टै कक्ष तयार गरिएको हो। लामिछानेलाई राखिएको कक्ष कारागार भवनभन्दा बाहिर छ।
लामिछाने शुक्रबार राति काठमाडौँको बुढानिलकण्ठस्थित निवासबाट पक्राउ परेका थिए। लामिछानेलाई शनिबार बिहान भैरहवा लगिएको हो। दुई दिन बिदा भएपछि शनिवार र आइतबार जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको हिरासतमा राखिएको थियो।
बुटवको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासले शुक्रबार थुनामा राख्न आदेश दिएपछि प्रहरीले लामिछानेलाई पक्राउ गरेको थियो।