मध्येराति जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, साढे ३ घण्टापछि मात्रै प्रहरीलाई जानकारी

काठमाडौँ– अर्घाखाँचीको मालारानी गाउँपालिका–३ ढुङ्गाडेस्थित लुटीपोखरी–खनदह भित्री सडकखण्डमा जिप दुर्घट्ना हुँदा २ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन्।
मालारानी–३ लुटीपोखरीबाट मालारानी–४ खनदहतर्फ गइरहेको लु २ च २९९० नम्बरको सिङ्गल क्याब जिप जिप राति करिव १२ बजे दुर्घटना हुँदा चालक मालारानी–४ का २२ वर्षीय दिलिप खनाल र २१ वर्षीय बालकृष्ण रिजालको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क लगिएको थियो। उपचारकै क्रममा उनीहरुको मृत्यु भएको हो।
दुर्घटनामा सोही ठाउँका १७ वर्षीय भुवन पोखरेल, १७ वर्षकै वसन्त पोखरेल घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि बुटवल रिफर गरिएको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ।
दुर्घटनाको जानकारी प्रहरीले आज बिहान करिव साढे ३ बेजे मात्रै पाएको थियो। नजिकै घरहरु नभएकाले दुर्घटनाको खबर प्रहरीलाई समयमै नपुगेको इलाका प्रहरी कार्यालय खनका इन्स्पेक्टर जगन्नाथ मरासिनीले बताए। जिप सडकबाट झण्डै दुईसय मिटर तल खसेको छ।