भारतीयलाई नागरिक्ता दिलाउन ५० हजार लिएर नक्कली बाबु बनेका सिरहाका अमानत मियाँ पक्राउ

लहान– भारतीय नागरिकलाई नेपाली नागरिक्ता दिन ५० हजार भारु लिएर नक्कली बुवा बनेका सिरहाको नरहा गाउँपालिका ३ का अमानत मियाँ पक्राउ परेका छन्।
मियाँलाई सिरहा प्रहरीले मंगलबार पक्राउ गरेको हो। भारत विहार राज्यको मधुवनी जिल्ला जयनगर ग्रामपञ्चायत देउधा टोलका मोसताक मियाँलाई अमानतको छोरा बनाएर नेपाली नागरिक्ता दिएको विषय सार्वजनिक भएपछि उनलाई अनुशन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
नरहा गाउँपालिका–३ का वडाध्यक्ष रुस्तम अन्सारी र वडासचिव रामदेव मण्डलको मिलेमतोमा नरहा–३, खोरियाका अमानत र उनकी पत्नी रजिना खातुनलाई बुबाआमा बनाई मोसताकलाई नेपाली नागरिकता बनाइदिएको खुलेको थियो।
स्थानीयले आर्थिक लेनदेन गरेर नागरिक्ता बनाईएको दावी गरेका छन्। मोसताकलाई नागरिक्ता दिलाए वापत वडाध्यक्षले १ लाख, सनाखत बस्ने अमानत र रजिनाले पचास÷पचास हजार भारतीय रुपैयाँ लिएको उनीहरुको दाबी छ।
मोसताकले १५०१८०–४३६२ नम्बरको नेपाली नागरिकता पाएका छन्। वडाध्यक्ष रुसतम अन्सारीको सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालय सिरहाले २६ असार ०८० मा मोसताकको नाममा नागरिक्ता जारी गरेको छ।
नागरिक्तामा अमानतले सनाखत गरेको पाईएको छ। तर, उनले भने आफुलाई झुक्याएर हस्ताक्षर गराइएको दाबी गरेका छन्।
भारतीयले नागरिक्ता लिएको खुलासा भएपछि १ साउन ०८० मा स्थानीय उलफत मियाँले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए भने इनुस मियाँले ४ साउन ०८० मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए।
यो पनि,
सिरहामा २ लाख भारु खर्च गरेर वडाध्यक्षकै मिलेमतोमा भारतीयले लिए नेपाली नागरिक्ता