सप्तरीमा आगलागी हुँदा १३ घर जले, २ वटा खसी र एउटा भैंसी पनि मरे

राजविराज — सप्तरीका विभिन्न दुई स्थानमा भएको आगलागीमा परी १३ घर जलेर नष्ट भएका छन्। छिन्नमस्ता गाउँपालिका–४ लालापट्टीमा ८ घर र राजविराज ६ मा आगलागी हुँदा ५ घर जलेका हुन।
लालापट्टीमा मंगलबार बिहान बिजुलीकोसर्ट भई सुरु भएको आगलागीबाट घर, गोठ र अन्य सरसामानसमेत जलेर क्षती भएको प्रहरीले जनाएको छ।
आगलागीमा दुईवटा खसी र एउटा भैंसी जलेर मरेका छन्। प्रहरीका अनुसार स्थानीय देव नारायण पण्डितको दुई वटा घर, रामेश्वर पण्डितको घर र गोठ, भान्सा घर र जुगेश्वर पण्डितको घर र गोठ जलेर नष्ट भएको छ।
आगलागीबाट घरभित्र रहेका लत्ताकपडा, अन्नपात, फर्निचर, भाँडा, मोबाइल, सुन चाँदीसमेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। स्थानीय र सुरक्षाकर्मीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको छ।
यसैगरी राजविराज नगरपालिका ६ मा सोमबार साँझ आगलागी हुँदा पाँचवटा घर जलेर नष्ट भएका छन्। दुबीलाल यादवको गोठमा विजुली सर्ट भएर आगलागी भएको हो। आगलागीमा यादवको दुईवटा गोठ, एउटा भान्सा र एउटा बस्ने घर गरी चारवटा र छिमेकी सुरेश शर्माको एउटा घर र फर्निचर तथा फर्निचरमा रहेको काठ जलेर क्षती भएको प्रहरीले जनाएको छ।
राजविराज नगरपालिका र प्रदेश प्रहरी कार्याल जनकपुरको सम्पर्क कार्यालय राजविराजको दमकल, स्थानीय र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ।