एमाले जिल्ला सदस्य किरण लामा र अभिषेक गिरी झमुहबीच मध्येराति विराटनगरमा झडप, दुवै समुह फरार

विराटनगर– एमाले मोरङ जिल्ला कमिटिका सदस्य किरण लामा र अपराधिक घट्नामा विवादमा परिरहने रोनाल कँडेलको समुहसँग अभिषेक गिरीसहितको समूहको आईतबार मध्येराति विराटनगरमा दोहोरो झडप भएको खुलेको छ।
विराटनगरको रत्ना होटलको क्यासिनो परिसरमा आइतबार राति करिव १२ बजे झडप भएको हो। झडपपछि दुवै समुह भागिसकेपछि प्रहरीको टोली घट्नास्थल पुगेको थियो। प्रहरीका अनुसार किरण लामा र रोनाल कँडेलविरुद्ध अभिषेक गिरीका भतिजा निकेश गिरीले उजुरी दिएका छन्।
प्रहरी स्रोतका अनुसार अभिषेक गिरी राति रत्ना होटलको क्यासिनोमा थिए। त्यसपछि राति करिब १२ बजे किरण लामा र रोनाल कँडेल क्यासिनोमा पुगेका थिए। पटक–पटक क्यासिनोमा पसेर झगडा गर्ने गरेका कारण बाउन्सरले उनीहरुलाई गेटमै रोकेको थियो।
यसैक्रममा भित्र छिर्दै गरेका अभिशेकका भतिजा निकेशलाई भने बाउन्सरले रोकेनन्। त्यही रिसमा लामासहितले निकेशलाई हात उठाए। त्यो देखेपछि अभिषेक क्यासिनोबाट बाहिर निस्किएपछि दुवै समुहबीच कुटाकुट भएको स्रोतले जनाएको छ। झडपमा दुवै पक्षका केही ब्यक्ति घाइते भएको प्रहरीको भनाई छ।
मिटरब्याज असुलीको धन्धामा संलग्न रहेको आरोप लाग्ने गरेका लामा एमालेको नवनिर्वाचित जिल्ला कमिटी सदस्य हुन्। पर्शुराम बस्नेतको छत्रछायाँमा रहने गरेका लामा वस्नेतको राजनीतिक यात्रासँगै आफैं समूह चलाएर बसेका छन्।
मोरङ प्रहरीका अनुसार कँडेल भने ७ पटक पक्राउ परिसकेका ब्यक्ति हुन। उनी कांग्रेसका कार्यक्रमहरुमा देखा पर्ने गरेका छन। घट्नाका विषयमा अनुशन्धान भईरहेको प्रहरीले जनाएको छ। स्थानीयले भने प्रहरीकै कमजोरीका कारण झडप भएको आरोप लगाएका छन्। नेपाली नागरिकलाई क्यासिनोमा प्रतिवन्ध भएपनि प्रहरीको वेवास्ताकै निर्वाध प्रवेश पाईरहेको देखिन्छ। पछिल्लो घट्ना पनि यही कारण भएको उनीहरुको वुझाई छ।