राजा फर्काउने सल्लाहकार समितिको सदस्यमा कसरी पर्यो पूर्वप्रदेश प्रमुख अहिराजको नाम ?

काठमाडौँ– राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिको सल्लाहकारमा आफ्नो नाम राखिएकोमा मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख डा. राजेश अहिराजले असन्तुष्टि जनाएका छन्।
राजावादीहरूले सोमबार पत्रकार सम्मेलन गरी समिति र समितिका सल्लाहकारको नामावली सार्वजनिक गरेको थियो। सल्लाहकार समितिमा अहिराजको पनि नाम थियो। तर, अहिराजले भने उक्त समितिको सल्लाहकारमा आफू नभएको र आफूसँग कुनै सल्लाह पनि नगरिएको बताएका छन्।
राजा फर्काउने निर्देशक समितिको संयोजकमा नवराज सुवेदी छन्। यसैगरी सदस्यहरुमा अस्मिता भण्डारी, कमल थापा, केबरबहादुर विष्ट, दुर्गा प्रसाई, पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहनी, रमा सिंह, रविन्द्र मिश्र, राजेन्द्र लिङ्देन र हरिबहादुर बस्नेत (छन्।
निर्देशक समितिको प्रमुख सल्लाहकारमा डा. जगमान गुरुङ तथा सल्लाहकारमा बुद्धिराज बज्रचार्य, डा. शास्त्रदत्त पन्त, डा. राजेश अहिराज र खेमराज राई रहेको उल्लेख छ।
यसैगरी, निर्देशक समितिको सदस्यमा राखिएका केशर बहादुर विष्टले पनि आफू समितिमा नबस्ने बताएका छन्। ‘उहाँहरूले समिति बनाउनुभएछ। तर म यो समितिमा बस्दिनँ। मेरो समर्थन भने रहन्छ।’ उनले भनेका छन्।
फागुन १ मा राजालाई झापा बोलाएर राजावादी अभियान थालेकोमा दुर्गा प्रसाईलाई भने उनले धन्यवाद दिएका छन्।
राजावादीहरूले संवैधानिक राजसंस्थाको पुनस्र्थापना, सनातन हिन्दू अधिराज्यको पुनस्र्थापना, संघीयता खारेजी, भ्रष्टाचार नियन्त्रण र सुशासन लगायतका मागसहित निर्देशक समिति वनाएका हुन। आफ्ना एजेण्डालाई कमजोरी ठानेर अपव्याख्या गर्न थालिए त्यसको मूल्य महंगो पर्ने चेतावनी उनीहरुको छ।
हालैको समयमा श्रीलड़का, बङगलादेश र सिरीयामा सत्ताशीनहरूले सडकमा मुखरित भएको व्यापक आवाजलाई न्यूनिकरण गर्न र दबाउन खोज्दा ती देशहरूमा जस्तो परिस्थितिको निर्माण भएको उनीहरूको निष्कर्ष छ।