श्रीमतीसमेतको मिलेमतोमा ३८ वर्षीय युवकको हत्या, ५ जना पक्राउ

विराटनगर– धनकुटा छथर जोरपाटी गाउँपालिका–२, फलैँचाका ३८ वर्षीय खेमबहादुर दर्लामी मगरको हत्या भएको छ।
बिहीबार बेवारिसे अवस्थामा मृत फेला परेका मगरलाई उनकै कान्छि श्रीमती ४४ वर्षीया जीतामायाँ लिम्बुसहितको मिलेमतौमा हत्या भएको प्रहरीको अनुमान छ। घट्नामा संलग्न भएको आरोपमा जीतमायाँसहित ५ जना पक्राउ परेका छन्।
जीतमायासहित १९ वर्षीय ईन्द्रबहादुर तामाङ, ३२ वर्षीय चेतुलाल मगर, ३१ वर्षीय दाछिरी र १६ वर्षीय एक नाबालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी ओमप्रकाश खनालले जानकारी दिए।
मृतकको शरीरका विभिन्न भागमा चोट देखिएको र घटनास्थलको प्रकृतिका आधारमा हत्या गरिएको पाइएको प्रहरीले जनाएको छ। खेमबहादुरको प्रतिसोधमा हत्या भएको प्रहरीको आँकलन छ।
अनुशन्धानमा देखिए अनुसार खेमबहादुरले दिनहुँजसो जीतमायालाई कुटपीट र घरेलु हिंसा गर्ने गरेको देखिएको छ। बुधबार अपरान्ह पनि कुटपीट गरेपछि जीतमायाँसहितले बाँसको लट्ठीले पेट, ढाड लगायत विभिन्न भागमा हिर्काएर अन्त्यमा घाँटी थिचेर हत्या गरेको हुनसक्ने प्रहरीको भनाइ छ।
कुटपिटमा प्रयोग भएका लठ्ठी लगायत सामाग्रीहरू समेत बरामद भएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी खनालले बताए।