स्ववियु निर्वाचनले अशान्त बन्दै महेन्द्र मोरङ क्याम्पस, निर्वाचन अधिकृतलाई कोठामा थुनेर आगो लगाईयो

विराटनगर– ५ चैतमा हुन गईरहेको स्ववियु निर्वाचनका कारण मोरङको विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघको संस्थापन समुह र नेता शेखर कैराला समुहका कार्यकर्ताको मारामार छ।
यसैक्रममा कोइराला निकट केही विद्यार्थी नेताहरूले स्ववियु निर्वाचन समितिको कार्यालयमा बुधबार आगो लगाएका छन्। निर्वाचन अधिकृत डा. सुशीलकुमार अधिकारीलाई कोठामै थुनेर आगो लगाईएको हो।
प्रहरीले कोठाको ताला फुटाएको अधिकारीको उद्धार गरेको छ भने चार जना विद्यार्थी नेतालाई पक्राउ गरेको छ। नेविसंघका केन्द्रीय सदस्य योजराज दाहाल, पूजा विश्वास, जिल्ला सचिव गुड्डु साह र आयुष दाहाल पक्राउ परेका हुन।
प्रहरीका अनुसार नेविसंघको आधिकारिकता विवादका कारण अहिलेको समस्या आएको हो। पार्टी सभापति शेरबहादुर देउवा समूह र डाक्टर शेखर कोइराला समूह गरी स्ववियु निर्वाचनको लागि दुईवटा नेविसंघ दर्ता भएका थिए। तर, केन्द्रले दिएको आधिकारिताको चिठी लिएर गएपछि देउवा पक्षबाट उम्मेदवार प्रज्वल विष्टको समूहलाई निर्वाचन समितिले आधिकारिक्ता दिएको छ।
यता, कोइराला समूहबाट उम्मेदवार बनेका नेविसंघका केन्द्रीय सदस्यसमेत योगराज दाहालको समूहलाई स्वतन्त्र प्यानलको मान्यता दिइयो। त्यसपछि आक्रोशित बनेका नेताकार्यकर्ताले निर्वाचन अधिकृतलाई कोठामा थुनेर कार्यालयमा आगो लगाएका हुन।
यस अघि गत १५ फागुनमा नेविसंघको संस्थापन समुहका नेताकार्यकर्ताले कोईराला पक्षका नेता कार्यकर्तालाई कुटपिट गरेका थिए।
नेविसंघका विद्यार्थीहरुले दिएको जानकारी अनुसार कोइराला पक्षका नेता तथा पूर्वमुख्यमन्त्री केदार कार्की र कांग्रेस मोरङ उपसभापति तथा विराटनगर महानगर मेयर नागेश कोइराला दुई समूहमा बाँडिएकाले विद्यार्थीबिच विवाद झनै बढेको हो।
त्रिभुवन विश्वविद्यालयले स्ववियुको निर्वाचन आगामी ५ चैतका लागि तोकेको छ। उक्त क्याम्पसमा विभिन्न १९ वटा समूहले स्ववियु निर्वाचनमा भाग लिँदैछन्। क्याम्पसमा ५ हजार ५ सय जना मतदाता विद्यार्थी छन्।