सिरहाकी दलित किशोरी रिंकु सदायको बलात्कार र शंकास्पद मृत्यु प्रकरणमा हालसम्म १० जना पक्राउ

लहान– सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदायको बलात्कारपछि शंकास्पद मृत्यु प्रकरणमा हालसम्म बलात्कार आरोपित र पञ्चसहित १० जना पक्राउ परेका छन्। घट्नाका ३ जना आरोपित अझै फरार छन्।
प्रहरीले १३ फागुनमा ८४ वर्षीय चन्द्रेश्वर मण्डल, ४५ वर्षीय रामविनोद मण्डल र ४५ कमलेशकुमार दासलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो। त्यसपछि २१ फागुनमा मुख्य अभियुक्त रुपेश मण्डल पक्राउ परेका थिए।
त्यस लगत्तै वडा सदस्य नथुनी साह, रामकृपाल साह, विन्देश्वर साह, राजेन्द्र मण्डल, रामदेव सदाय र करिया मुसहरलाई पनि पक्राउ गरिएको थियो।
रिंकु गत ३० माघको साँझ आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। उनको मृत्युसँगै सामूहिक बलात्कार र अपराधलाई ढाकछोप गर्न गाउँलेले पञ्चायती गरेर पैसाको बार्गेनिङ गरेको रहस्य सार्वजनिक भएको थियो।
२६ माघको राति करिब ९ बजे शौच गर्न वाहिर निस्कदाँ रिंकुलाई अपहरण शैलीमा खेतमा पु¥याई ३ जनाले बलात्कार गरेको घट्ना खुलेको थियो। आमा र भाइका साथमा बस्दै आएकी उनलाई ६ घण्टासम्म कब्जामा लिएर बलात्कार गरी २७ माघको बिहान करिव ३ बजे छोडिएको थियो।
उनले परिवारलाई आफूमाथि सामूहिक बलात्कार भएको बताउँदै स्थानीय रुपेश मण्डल, टिंकु मण्डल र चन्दन साहेलालको नाम लिएकी थिईन। घट्ना वाहिरिए लगत्तै २९ माघमा गाउँमा पञ्चायत बोलाईएको थियो।
पञ्चायतले पीडक मध्येका रुपेशलाई १ लाख ५० हजार जरिवाना गर्ने निर्णय गरेको थियो। तर, त्यो निर्णय पीडित परिवार र रुपेशका बुवा देवानाथसमेतले अस्विकार गरे। त्यसपछि ३० माघमा फेरि पञ्चायत बसेको थियो।
तर, उनलाई न्याय दिने भन्दा पनि पञ्चहरुले घटना सामसुम पार्न खोजेको केही समयपछि नै उनी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। यो घट्नामा बलात्कार आरोपित टिंकु मण्डल र चन्दन साहेलालसहित तीन जना भने अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी रमेश पण्डितले जानकारी दिए।