सुधार केन्द्रमा कुटेर युवकको हत्या गरेको आरोप लागेका ६ जना कारागार चलान

जनकपुर– बाराको कलैयास्थित नवजन्म पुनःस्थापना केन्द्र (सुधार गृह) मा कुटपिटबाट एक जनाको मृत्यु भएको प्रकरणमा ६ जना पुर्पक्षका लागि कारागार चलान भएका छन्।

कलैया उपमहानगरपालिका–१, बैंक रोडमा रहेको सुधार गृहमा त्यहाँका कर्मचारी र परामर्शदाताको कुटपिटका कारण कलैया–९ का ३७ वर्षीय प्रदिपप्रसाद मण्डल (धीरेन्द्र) को मृत्यु भएको थियो। त्यो प्रकरणमा प्रहरीले ७ जनालाई पक्राउ गरेको थियो।

कुटपिटमा संलग्न देखिएका ६ जनालाई जिल्ला अदालत बाराका न्यायाधीश कोमलप्रसाद आचार्यको मंगलबारको इजलाशले कारागार पठाउने आदेश दिएको हो। उनीहरुमाथि २० वर्षसम्मको कैद सजायको मागदाबी गरिएको छ।

अदालतका अनुसार कलैया उपमहानगरपालिका–१ का २४ वर्षीय अरूण सर्राफ, १९ वर्षीय सागर गुप्ता, वडा २ का २१ वर्षीय परमेश्वर साह, ३ का १९ वर्षीय सरफराज मंसुरी, वडा ४ का २२ वर्षीय निरज सर्राफ र वडा नं. ६ का २० वर्षीय महम्मद आँसु मियाँ पुर्पक्षका लागि कारागार चलान भएका हुन्।

केन्द्रका सञ्चालक परिवारका सदस्य २९ वर्षीय तमन्ना मंसुर २ लाख ५० हजार धरौटीमा रिहा भएका छन्। अदालतका स्रेस्तेदार लालबहादुर कार्कीका अनुसार उनीमाथि प्रमाण लुकाएको छुट्टै कसुरअन्तर्गत ३ वर्षसम्म कैद सजायको माग दाबी भएको छ। तमन्नाका दाजु (केन्द्र सञ्चालक परिवार) साहेबबाबु मंसुर र अन्य एक ब्यक्ति फरार छन्।

सुधार केन्द्रमा भर्ना भएको १५ दिन नबित्दै मण्डलले शारीरिक सजाय स्वीकार नगर्दा कुटपिट भएको थियो। गर्दा उनको मृत्यु भएको थियो। प्रदीपले अनुशासन भंग गरेको भन्दै निलडाम गराउन खोज्दा उनले नमानेपछि कुटपिट गरिएको खुलेको थियो।

कुटपिट भएको सीसीटिभीको फुटेज सामाजिक सञ्जालमा भाइरल भएको थियो। सुधार केन्द्र काठमाडौंमा दर्ता भई शाखाको रुपमा विस्तार गरी सञ्चालन गरिएको थियो।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट