दार्जेलिङ घुमाउँने वहानामा नुवाकोटकी महिलालाई पुणे पुर्याई डेढ लाखमा वेच्ने २ जना पक्राउ

काठमाडौँ– दार्जेलिङ घुमाउने वहानामा भारतको पुणेमा पुर्याई नुवाकोटकी एक महिलालाई डेढ लाखमा बेचेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
नुवाकोटको दुप्चेश्वर गाउँपालिका–७ घर भएका ३२ वर्षीय मानबहादुर तामाङ र दुप्चेश्वर–६ का २४ वर्षीय सोमबहादुर तामाङ (थोकर) लाई नेपाल प्रहरीको मावन बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो। उनीहरुलाई आइतबार सार्वजनिक गरिएको छ। दुई मध्ये मानबहादुर यसअघि पनि मानव बेचबिखन तथा ओसारपसारको कसुरमा दोषी ठहर भएका व्यक्ति हुन।
काठमाडौँ जिल्ला अदालतले मानव बेचबिखनमा दोषी ठहर गर्दै उनलाई १० वर्ष कैदको सजाय सुनाएको थियो। उच्चले उक्त फैसलालाई ५ वर्ष मात्रै कायम गरिदिएपछि ०७६ सालमा जेल परेका उनी केही समयअघि मात्रै छुटेका थिए।
सोही घटनाका अर्का प्रतिवादी सञ्चबहादुर तामाङ भने अहिले डाँका चोरी मुद्दामा कारागारमै छन्। महिला वेचिएको घट्नामा संलग्न एक महिला र एक पुरुष अझै फरार छन्। ब्यूरोका प्रमुख (एसएसपी) दीपेन्द्र जिसीका अनुसार पक्राउ परेका र बेचिएका महिलाहरु एकै जिल्ला र पूर्व चिनजाका हुन्। उनीहरू सँगै कन्ट्रक्सनमा लेभरको काम गर्थे।
त्यसैले दार्जिलिङ घुम्न जाउँ भनेर फकाउँन उनीहरुलाई सहज भएको र महिलाले पनि अस्विकार नगरेको खुलेको छ। उनीहरुलाई दार्जेलिङ घुम्ने, मोबाइल किनिदिने र काम गरेको पैसा समेत दिने प्रलोभन दिईएको थियो। त्यसपछि ललितपुरको गोदावरी नगरपालिका–१२ चापागाउँ ठेचोबाट कोटेश्वर पुर्याई १८ मंसिरमा वीपी राजमार्ग हुँदै झापा पुर्याएको खुलेको छ।
झापाबाट इलाम पुगेर एक रात त्यहाँ वसेपछि उनीहरु पशुपतिनगर नाका हुँदै दार्जिलिङ पुगेका थिए। भारत प्रवेश गर्न नक्कली नेपाली नागरिक्ता र आईडीको प्रयोग गरिएको खुलेको छ। नक्कली नागरिकता र कार्ड बनाउने काम भने हाल कारागारमा रहेका सञ्बहादुर तामाङले गरेको ब्यूरोका (एसपी) नरेन्द्र कुँवरले वताए। निरमाया घलानको नाममा नक्कली नागरिकता र परिचयपत्र बनाएर बोर्डरमा देखाईएको खुलेको कुँवरले जानकारी दिए।
त्यहाँबाट कोलकत्ता र कोलकत्ताबाट दिल्ली पुर्याएर १७ दिनसम्म राखेपछि महाराष्ट्रको पुणेस्थित न्यू बिल्डिङ फुड प्लाजा बुधबारे पठेको रेड लाइट एरियाको कोठीमा पुर्याएर महिलालाई बेचिएको ब्यूरोका एसपी कुँवरले बताए।
महिलाले सुटुक्क आफ्ना श्रीमानसँग सम्पर्क गरेपछि घट्ना प्रहरीसम्म पुगेको थियो। त्यसपछि मानव बेचबिखन अनुसन्धान ब्यूरोले भारतीय प्रहरीसँग समन्वय गरेपछि छापा मार्ने डरले महिलालाई बसको टिकट काटेर सुनौली नाकासम्म ल्याएर छाडिदिएको प्रहरीको अनुशन्धानमा खुलेको छ। १५ माघमा महिलाको उद्धार भएको थियो।