कविताः नारीको स्वरुप

नारी हुँ म।
पृथ्वीको चेतनशील र सर्वश्रेष्ठ
दुई प्राणी मध्ये एक
र, अर्कोले व्याख्या गरिएको परिभाषा
जात , धर्म र क्षेत्र अनुसार

कतै पुरुषको स्थान भन्दा
अधिक अगाडि हुन्छु म
कतै वन्दुकको नाल हुदै
वुर्काको कालो पर्दा पछाडि
कतै वर्चित समाजको अन्धविश्वासमा
भने कतै प्रेरणादायी कथाको आख्यानमा

मेरो रगतको ढिक्काले कोखमा जिवन लिन्छ
र धर्तीमा अवतरित हुन्छ पवित्र नाम पुरुष
जोसँग जन्म सिद्ध पाएको विरासत छ।
जो दाता हुन
माहाराजा र
भन्नु पर्ने परमेश्वर

अनी तिनैले निर्धारण गर्छन
म नारीको कर्म
कठै
सौभाग्य की अभिस्राप।

हो म त्यही समाजको स्वरुप हुँ ।
जहाँ
मेरो परिपक्वता,मेरो आत्मविश्वास
मेरो शक्ति
कसैले गोठमा थुन्छन, त कसैले गुम्वामा
मुर्छाएर जव उपयुक्त ठहरिन्छु
अनी परिचालनको लागि
निर्वाचित हुन्छु प्रयोगशालामा
सन्तान उत्पादन
दासी
अर्को काम वासना

पुरुष भित्र रहेको अप्ठेरो जिवन म
घाट हुदै घुम्ती र पिडाको अनुभूति
कसैले दुःख थेग्ने धर्ती भन्छन
कसैले धैर्यता र सहनशिलताको सर्वनाम
कसैले करुणाको खानी भन्छन
कसैले दिन्छन
देवी र वोक्सीको उपनाम ।

यातना सहे
समाजले मर्यादाको तक्मा दिन्छन।
मौलता तोडेर प्रतिकार गरे
कुसँस्कारको सँज्ञा
यिनै दरिद्र पितृसत्ताको उपज
र भुक्तभोगी हुँ म
सामाजका कुन्ठित यातना
र हिंसावाट बाँचेको
एक जीर्ण आशा हुँ म।

हुन त महिला र पुरुष बराबर भन्छन।
तर
लैंगिक समानता र समताको कुरा
भाषणबाजी मात्रै
पुरुषबादी समाजमा
सामन्तीका कुरा फजुल नारा मात्रै
उन्मुक्ति खोज्दै निखार
आफुमा भद्रकाली र चण्डिकाको गुण
चेतनाले खडेरीग्रस्त छ समाज
कुसँस्कारको तुवालो चिर्न
विद्रोहका लागी लिनै पर्छ
अव नारीले रौद्र रुप।

कविता सुन्न यहाँ क्लिक गर्नुहोस।


प्रतिक्रिया

One thought on “कविताः नारीको स्वरुप

  1. धेरै मन छुने, धेरै प्रेरणादायी, लेखिरहनुहोस् र आफ्नो कलमले संसारलाई प्रेरित गरिरहनुहोस्।

Leave a Reply to Newal Chaudhary Cancel reply

Your email address will not be published. Required fields are marked *