‘जरा अभियान’ले झन कमजोर बनायो एमाले संगठनको जरा, विवाद भएपछि जिल्ला अध्यक्षले नै छोडे पार्टी

काठमाडौँ– सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले गाउँ–गाउँसम्म पार्टीको संगठनलाई वलियो बनाउँन ‘जरा अभियान’ सञ्चालन गरिएको छ। एमाले महासचिव शङ्कर पोखरेलको कुरा मान्ने हो भने यो अभियान वडाकेन्द्रित छ।
उनले जरा केन्द्रित अभियान र मिसन–२०८४ ले एमालेलाई अझ सशक्त शक्तिका रूपमा स्थापित गर्ने बताएका छन्। नेकपा एमालेलाई निर्णायक शक्ति निर्माण गर्ने यात्रामा स्थानीय तहका पूर्वजनप्रतिनिधिका साथै तहका युवा वर्गको योगदान हुनेमा आफू विश्वस्त रहेको उनले बताए।
तर, जरा अभियानकै क्रममा उत्पन्न विवादका कारण एमाले रसुवाका जिल्ला अध्यक्ष जनार्दन ढकालले पार्टीनै छोडेका छन्। केही महिना अघि मात्रै निर्वाचित जिल्ला अध्यक्ष ढकालले एमालेको संगठीत सदस्यस्तासमेत त्यागेको घोषणा गरेका छन्।
एमालेले प्रेम तामाङलाई पार्टी प्रवेश गराएर केन्द्रीय सदस्यको जिम्मेवारी र रसुवाको इन्चार्ज बनाएपछि विवाद सुरु भएको थियो। करोडौँ रुपैयाँ ठगी गरेर बदनाम भएका तामाङलाई पार्टीमा ल्याएर केन्द्रिय सदस्यसहित जिल्लाको इन्चार्जसमेत दिएपछि नेताकार्यकर्ताहरु रुष्ट छन्।
यो कुरा पाटीको जरा अभियानमा पनि उठ्यो। हरेक कार्यक्रममा तामाङको विषयलाई लिएर विवाद हुन थालेपछि अभियान नै स्थगित गर्नु परेको छ। यो विषय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसम्म पनि पुगेको छ। तर समस्या समाधानका लागि खास चासो नदिएपछि संविधानसभा सदस्यसमेत रहेका ढकालले पार्टी अध्यक्षबाट राजिनामा दिएको रसुवाका एमाले नेताहरूको बुझाइ छ।
उसो त, ढकाल पनि बैंकिङ कसुरका अभियोगी हुन। उनीविरुद्ध वैशाख ०७३ मा दिएको चेक नसाटिएको भन्दै बैंकिङ कसुर अन्तर्गत मुद्धा दायार भएको थियो। सुर्यचन्द्र कन्स्ट्रक्सन नामक निर्माण कम्पनीका संचालकसमेत रहेका ढकालले ईटा सप्लाई गरेवापतको रकमका लागि दिएको चेक बाउन्स भएको भन्दै ५ लाख रुपैयाँ दावी गरी आरबी ईट्टा उद्योगका संचालक गोबिन्द रावलले रुपन्देही जिल्ला अदालतमा अदालतमा मुद्दा दायर गरेका थिए।