अमेरिकामा २ नेपाली विद्यार्थीमाथि बलात्कारको मुद्दा, सहपाठीलाई बलात्कार गरेर १९ र २० वर्षका युवा फरार

काठमाडौँ– अमेरिकाको मिनिसोटा राज्यमा अध्ययन गर्दै आएका २ नेपाली विद्यार्थीमाथि बलात्कारको आरोपमा मुद्दा दर्ता भएको छ। उनीहरुमाथि सहपाठी छात्रालाई बलात्कार गरेको आरोप छ।
सेन्ट क्लाउड स्टेट युनिभर्सिटी मिनिसोटामा अध्ययन गर्दै आएका २० वर्षीय फुयाल र १९ वर्षीय तामाङ थरका विद्यार्थी विरुद्ध २१ फेब्रुअरीमा र्स्टन्स काउन्टी कोर्टमा मुद्दा दर्ता भएको हो। उनीहरु विरुद्ध र्स्टन्स काउन्टी प्रहरीले मुद्दा दायर गरेको हो।
दुवै युवाविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ। तर, उनीहरु फरार छन्। मिनिसोटामा नभेटिएपछि उनीहरुको राष्ट्रव्यापी खोजी भईरहेको प्रहरीले जनाएको छ। दुवैले कलेजमा अगस्तदेखि डिसेम्बरसम्मको सेमेष्टरमा भर्ना लिएका थिए। विन्टर ब्रेकपछि उनीहरु नआएको कलेज प्रशासनले जानकारी गराएको छ।
मिनिसोटाको सेन्ट क्लाउड फस्ट एभिन्यू साउथमा रहेको छात्रावासको कोठामा गत नोमेम्भर १ मा किशोरीमाथि बलात्कार भएको थियो। ती किशोरीले दिएको उजुरीको आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो। फुयाल र तामाङले सुरुवाती सोधपुछमा आरोप अस्विकार गरेका थिए।
तर, अनुसन्धानको क्रममा घटना घटेको समयमा उनीहरूको त्यहाँ उपस्थिति देखिएको र पीडितको स्वास्थ्य परीक्षणका क्रममा डीएनए सेम्पल म्याच भएको प्रहरीले जनाएको छ। घटनापछि फुयालले पीडित विद्यार्थीलाई इन्ष्टाग्राममा रिक्वेष्टसहित उनको स्वास्थ्य अवस्थाबारे चासो राखेको म्यासेज समेत फेला परेको प्रहरीले उल्लेख गरेको छ।