ठमेलमा प्रहरी कुट्ने एमालेका विद्यार्थी नेता १० देखि १५ हजार धरौटी बुझाएर छुटे

काठमाडौँ– काठमाडौँको ठमेलमा प्रहरी कुट्ने एमालेका विद्यार्थी नेताहरू १० देखि १५ हजारसम्म धरौटी बुझाएर रिहा भएका छन्।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर केसीको इजलासले घट्नामा संलग्न पाँचै जनालार्य धरौटीमा छाड्न आदेश दिएको थियो। अदालतको आदेशपछि धरौटी बुझाएर पाँचै जना रिहा भएको प्रहरीले जनाएको छ।
अदालतले रमेश फुलारालाई १५ हजार, एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका स्थायी कमिटी सदस्य कमलराज जोशी, गोपालबहादुर शाही, नवीनसिंह ऐर, दिनेश सिग्देललाई जनही १०÷१० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।
यो समूहले २४ माघको राति ड्यूटीमा खटिएका प्रहरीलाई कुटपिट गरेको थियो। दरबारमार्गस्थित केशरमहल बिटबाट ड्यूटीमा खटिएको क्विक रेस्पोन्स टिम (क्यूआरटी) का प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज बिष्ट कुटिएका थिए।
मादक पदार्थ सेवन गरी मध्यराति हो–हल्ला गर्दै हिँडेपछि प्रहरीले उनीहरूलाई सम्झाउन खोजेको थियो। तर, प्रहरीको मोटरसाइकल लडाउँदै उनीहरुले कुटपिट गरेका थिए।