अध्ययनका लागि लण्डन गएका धनुषाका अधिकारी ३ सातादेखि सम्पर्कविहिन

काठमाडौँ– बेलायतको लण्डनमा अध्ययनका लागि गएका धनुषाका एक विद्यार्थी करिब तीन सातादेखि सम्पर्कविहीन भएका छन्। युनिभर्सिटी अफ क्रियटिभ आर्टस्मा अध्ययन गर्न गएका धनुषाको हंसपुर नगरपालिका –६, का २३ वर्षीय कमल अधिकारी सम्पर्क विहिन भएका हुन।
अधिकारी २ फेब्रुअरीदेखि सम्पर्कमा नरहेको उनका बुबा हरिनारायण मण्डल जानकारी दिएका छन्। उनले छोराको खोजीका लागि २३ माघमा परराष्ट्र मन्त्रालयमा निवेदनसमेत दिएका थिए।
लण्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख विपिन दुवाडीका अनुसार वेस्ट लन्डनमा बसोवास गर्दै आएका अधिकारीको खराव आचारणका कारण उनलाई घरबेटीले निकालेका थिए। त्यसपछि उनी इलफोर्ड सेभेन किङ्सका सुरज पण्डितसँग सम्पर्कमा थिए।
पण्डित लगायतका नेपालीहरुले अधिकारीको वसोवासका लागि अन्य घरहरुमा पनि सम्पर्क गरे। तर, उनको हाउभाउबाट डराएर कसैले भने डेरामा राख्न मानेनने। त्यसपछि उनलाई बाटो खर्च जुटाएर नेपालीहरुले २ फेब्रुअरीमा पठाएका थिए।
त्यसयता, उनी कहाँ गए भन्ने कसैलाई पनि जानकारीमा छैन। परिवारसँग पनि सम्पर्कमा नआएपछि चिन्ता र चासो बढेको छ। लण्डनस्थित नेपाली दूतावासले अधिकारीको खोजीका लागि पहल गरिरहेको जनाएको छ। लन्डन मेट्रोपोलिटन प्रहरी र स्थानीय समुदायसमक्ष अनुरोध गरिएको दुवाडीले बताए।
जानकारी अनुसार अधिकारी १७ सेप्टेम्बर ०२२ मा बेलायत गएका थिए।