केबलकार निर्माण स्थल कब्जामा लिन खोजेपछि ताप्लेजुङमा दाहोरो झडप, प्रहरीले हान्यो अश्रुग्याँस

विराटनगर– ताप्लेजुङको पाथिभरामा केबलकार निर्माणस्थल कब्जा गर्ने उदेश्यले ढुङ्गामुढासहित आक्रमण भएपछि प्रहरीसँग दोहोरो झडप भएको छ। ‘नो केबलकार’ पक्षधर समुह र सशस्त्र प्रहरीबीच दोहोरो झडप भएको हो।

आक्रमणमा उत्रिएको समुहले केबलकार निर्माणको संरचना तोडफोड गरेको छ। त्यसपछि निर्माण स्थल कब्जा गर्ने र त्यहाँका कामदारलाई काम छाडेर नहिडे क्षति भोग्नुपर्ने चेतावनी दिएपछि सशस्त्र प्रहरीको टोलीले दर्जन बढि अश्रुग्यास प्रहार गरेको छ।

पाथीभरा क्षेत्रमा निर्माण भइरहेको केबलकार निर्माण रोक्न माग गर्दै आज ‘नो केबलकार पक्ष’ले पदयात्रा आयोजना गरेको थियो। पदयात्रामा राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो पनि सहभगि थिए। पदयात्राको मुख्य उद्देश्य मुकुम्लुङ क्षेत्रमा निर्माण गर्न लागिएको केबलकार परियोजनाको विरोध गर्नु थियो।

तर, पदयात्रामा गएकाहरूले केबलकार निर्माणस्थलमा रहेका निर्माण समाग्रीहरू कब्जामा लिन खोजेको थियो। त्यसपछि सशस्त्र प्रहरीले रोकेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। निर्माणस्थल कब्जा गर्ने उद्देश्यले अघि बढेका पहिचानवादी आन्दोलनकारीलाई रोक्न खोज्दा ढुंगा हानेर तोडफोडमा उत्रिएपछि उनीहरुलाई पछि हटाइएको डीएसपी रवी रावलले बताए।

आन्दोलनकारीले केबलकार निर्माणस्थलको माथि पाखाबाट अन्धाधुन्ध ढुंगा प्रहार गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको भिडिओमा पनि देखिन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट