पाथिभरामा केबलकार वन्नु पर्ने पक्षका माबोलाई कालोमोसो दल्ने जसपाका नेता पक्राउ

विराटनगर– पाथीभरामा निर्माणाधीन केबलकारको पक्षमा बोलेको भन्दै ताप्लेजुङका पदम चेन्जी माबोलाई कालोमोसो दल्ने जनता समाजवादी पार्टी नेपाल (जसपा) का एक जना नेतालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ।
प्रहरीले जनता समाजवादी पार्टी नेपाल, धरानका उपाध्यक्ष सुमन चेम्जोङलाई पक्राउ गरेको हो। पदमले इलाका प्रहरी कार्यालय धरानमा आफूलाई मोसो दल्ने चेम्जोङसहित जनमुक्ति पार्टीका केन्द्रीय उपमहासचिव विष्णु थाम्देन, नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय नेता अमर इजम, पहिचानवादी मोर्चाका नेता जेन्टल लावतीलगायत ८ जनाविरुद्ध सोमबार किटानी जाहेरी दिएका थिए।
माबोकै उजुरीका आधारमा चेम्जोङ पक्राउ परेका हुन। प्रहरीले आठै जनाविरुद्ध जिल्ला अदालत सुनसरीबाट पक्राउ पुर्जीको लिएको छ। धरानका डीएसपी प्रकाश जबेगूका अनुसार अदालतको अनुमतिपछि चेम्जोङलाई पक्राउ गरिएको हो।
मुक्कुमलुङ पक्षधर याक्थुङ चुम्लुङले आईतबार धरान–२ स्थित एक होटलमा पत्रकार सम्मेलन गरेको थियो। माबो याक्थुङ चुम्लुङका नवनिर्वाचित उपाध्यक्षको रूपमा पत्रकार सम्मेलनमा उपस्थित थिए। सोही क्रममा सामाजिक सञ्जालमा ‘नो केवलकार’ पक्षहरूलाई विभिन्न आलोचना गरेको आरोप लागाउँदै उनलाई कालोमोसो दल्दै हातपात गरेका थिए।
उनलाई आक्रोशित समूहको भिडले ‘मुक्कुमलुङ जिन्दाबाद–पहिचान विरोधी मुर्दावाद’ भन्दै कालोमोसो दलेका थिए। कालोमोसो दलेपछि घटना स्थलमै ‘आफु केबलकार बनाउने पक्षमा नरहेको र पहिचानको पक्षधर रहेको’ कबोल गराएर माफी मगाईएको थियो।
मुक्कुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति सुनसरीका कार्यकर्ताहरूको संलग्नतामा धरान–९, पुतलीलाइनमा भएको यो घट्नापछि ‘नो केबलकार’ समूहको चौतर्फी आलोचना भइरहेको छ।