नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरण ओडिसाको विधानसभामा, कलेजले माग्यो माफी

काठमाडौँ– नेपाली छात्रा प्रकृति लम्सालको मृत्युपछि नेपाली विद्यार्थीहरूमाथि दुव्र्यवहार भएको घटनामा भारतको ओडिसास्थित कलिंग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) ले माफी मागेको छ।

किटका उपकुलपति शरणजित सिंहले मंगलबार एक विज्ञप्ति जारी गर्दै नेपाली विद्यार्थीहरूमाथि गरिएको व्यवहारप्रति खेद व्यक्त गरेका छन्। ‘हाम्रा दुई कर्मचारीहरूले गरेका टिप्पणी अत्यन्त गैरजिम्मेवारपूर्ण छन्, हामी उनीहरूको कार्यलाई समर्थन गर्दैनौं। त्यसैले हामीले उनीहरूलाई सेवाबाट हटाएका छौं, उनीहरूले आफ्नो टिप्पणीप्रति माफी पनि मागेका छन्’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाली विद्यार्थी र जनताप्रति हाम्रो स्नेह छ। हामी उनीहरूलाई त्यति नै माया गर्छौं जति हामी भारतका मानिस र विश्वका मानिसहरूलाई माया गर्छौं।’

उपकुलपति सिंहले नेपाली विद्यार्थीहरूलाई तत्काल नियमित शिक्षामा सामेल हुन पनि आग्रह गरेका छन्। कलिंग इन्स्टिच्युटमा भएको घटनाबाट स्तब्ध भएको पनि उनले उल्लेख गरेका छन्। किटमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको गत आइतबार मृत्यु भएको थियो।

लम्सालको मृत्यु प्रकरणमा प्रहरीले सोही कलेलको बि–टेक (मेकानिकल) तेस्रो वर्षमा अध्ययनरत अद्विवक श्रीवास्तवलाई पक्राउ गरेको छ। लम्साललाई आत्महत्या गर्न उक्साहट गरेको आरोपमा पक्राउ परेका उनलाई अनुसन्धानका लागि न्यायिक हिरासतमा राखिएको छ।

सोमबारबाट उनको मोबाइल, ल्यापटप र एउटा डायरी पनि जफत गरेर डिजिटल जाँच गर्न पठाएको छ। २० वर्षीया लम्साल मृत अवस्थमा भेटिएपछि श्रीवास्ताव भागेर कोलकातास्थित घर जान खोजेका थिए। तर, व्यापक दबाबबीच उनी विमानस्थलबाटै पक्राउ परेका थिए।

यो प्रकरणले नेपालको प्रतिनिधिसभादेखि ओडिसाको विधानसभासम्ममा प्रवेश पाएको छ। त्यहाँका सांसद्हरूले कलेजको लापरबाहीका कारण अन्तर्राष्ट्रिय रुपमै ओडिसाको निन्दा भएको भनेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट