डाक्टर कुम्भ नुहाउन हिँडेपछि गजेन्द्रनारायण अस्पतालको बालरोग विभाग मेडिकल अधिकृतले चलाउँदै

राजविराज– सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालका बालरोग विशेशज्ञ डा. मुकुन्द देव र डा. सरोजकुमार यादव ३ फागुनदेखि विदामा छन्। अस्पतालबाट सट्टा बिदा लिएका उनीहरु कुम्भ स्नान गर्न भारततर्फ लागेको खुलेको छ।

यो त दुई÷चार दिनको कुरा मात्रै हो। स्थायी दरबन्दीमा कार्यरत एघारौं तहकी वरिष्ठ कन्सलटेन्ट पेडियाट्रिसियन डा. एन्जिला घिमिरे ८ महिनादेखि विदामा छिन्। २७ जेठ ०८१ मा असाधारण बिदा लिएर हिडेकी उनी २७ माघमा अस्पतालमा हाजिर भएकी थिईन।

तर, उनी हाजिर भएर पनि अस्पताल र सेवाग्राहीका लागि भने ‘कागलाई बेल पाक्यो, हर्ष न विस्मात’ भने जस्तै भयो। हाजिर भएको भोलिपल्टै २८ माघमा थप विदाको सिफारिस लिएर उनी स्वास्थ्य मन्त्रालय पुगेकी छिन्। ८ महिनासम्म अस्पतालमा देखा नपरेकी घिमिरे फेरी १७० दिन बिदाको स्वीकृतिका लागि स्वास्थ्य मन्त्रालय रहेको जनाईएको छ।

अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. दिलिपकुमार साहका अनुसार अस्पतालबाट बिदाको सिफारिस लिएर डा. घिमिरे स्वीकृतिका लागि गएकी हुन् । अर्कोतर्फ दशौं तहकी कन्सलटेन्ट पेडियाट्रिसियन डा श्वेता गुप्ता ५ वर्षदेखि काजमा भरतपुर अस्पतालमा छिन्। २ पुष ०७६ देखि काजमा बसेकी उनी फिर्ता भएकी छैनन्।

यसरी भएका विशेषज्ञ डाक्टर कोही घरै बसेर जागिर खाने, कोही सुविधाका लागि वर्षौसम्म काजमा बसिदिने र कोही कुम्भ स्नानका नाममा भौंतारिन थालेपछि ३ फागुन यता गजेन्द्रनारायण सिंह अस्पतालको बालरोग विभाग विशेषज्ञ चिकित्सकविहीन छ। बालरोग विभाग मेडिकल अधिकृत डा. एनिलता दास र डा. गौतम मण्डलले चलाई रहेका छन्।

यी त प्रतिनिधिमुलक पात्र मात्रै हुन। बालरोग विभाग मात्र होइन, यहाँ दरबन्दी भई कार्यरत रहेका विशेषज्ञ चिकित्सकहरु काज मिलाउँदै लामो समयदेखि अन्यत्रैको अस्पतालमा कार्यरत रहँदा यहाँका सेवाग्राही विराटनगर, काठमाडौँ र भारतीय अस्पतालमा धाउन बाध्य छन्।

अस्पतालका एघारौं तहका प्रमुख कन्सलटेन्ट जनरल फिजिसियन डा. अवधेशकुमार मिश्र ४ असार ०८१ देखि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालम, दसौं तहका वरिष्ठ कन्सलटेन्ट अर्थोपेडिक सर्जन डा. इन्द्र ढकाल ५ असार ०८१ देखि लुम्बिनी प्रादेशिक अस्पतालमा, नवौं तहका कन्सलटेन्ट रेडियोलोजिष्ट डा. प्रकाश ढकाल २६ साउन ०८१ देखि लुम्बिनी प्रदेशमा र नवौं तहकै कन्सलटेन्ट डर्माटोलोजिष्ट डा. रन्जु पोखरेल १९ साउन ०८१ देखि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काजमा छन्।

नवौं तहका कन्सलटेन्ट साइक्लोजिष्ट डा. सुशिल समदर्शी २७ जेठ ०८१ देखि कर्णाली प्रदेशमा र नवौं तहकै कन्सलटेन्ट एनेस्थेसियोलोजिष्ट डा. विशालकुमार देव ३० साउन ०८१ देखि कोशी अस्पताल विराटनगरमा काजमा छन्।

अस्पतालमा दरबन्दी रहेका विशेषज्ञ चिकित्सकहरु स्वास्थ्य मन्त्रालयबाट काज मिलाउँदै अन्यत्रका अस्पतालमा जाने क्रम नरोकिएपछि यो अस्पतालमा चिकित्सक अभाव भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भने गजेन्द्रनारायण सिंह अस्पताल विशेषज्ञविहीन हुनुमा प्रमुख कारण मेडिकल सुपरिन्टेन्डेन्ट जिम्मेवार रहेको बताए।

गजेन्द्रनारायण सिंह अस्पतालमा ५० शय्याको स्वीकृति छ। तर, बिरामीको चापका कारण १५० शय्या सञ्चालनमा छ। तर चिकित्सकको अभावमा सर्वसाधारणले विशेषज्ञ चिकित्सकबाट उपचार पाउन भने सकेका छैनन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट