नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणमा कलेजका २ जना सुरक्षा गार्ड वर्खास्त

काठमाडौँ– नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणमा भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले उच्च तहका प्रशासनिक अधिकारीसहित सुरक्षागार्डलाई निलम्बन गरेको छ।
कलेजले दुईजना सुरक्षा कर्मचारीलाई बर्खास्त गरेको, दुई जना वरिष्ठ होस्टेल अधिकारी र अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय (आईआरओ) का एक जना वरिष्ठ प्रशासनिक अधिकारीलाई पूर्ण अनुसन्धानका लागि निलम्बन गरिएको जनाएको छ।
केआईआईटीले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘१६ फेब्रुअरीमा भएको घटनाप्रति केआईआईटी अधिकारीहरू र सम्पूर्ण कर्मचारीहरू गहिरो दुःख व्यक्त गर्दछन्। दुई सुरक्षा कर्मचारीलाई तुरुन्तै बर्खास्त गरिएको छ। दुई वरिष्ठ होस्टेल अधिकारीहरू र अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयका एक वरिष्ठ प्रशासनिक अधिकारीलाई पूर्ण अनुसन्धानको लागि निलम्बन गरिएको छ।’
त्यस्तै, कर्मचारीहरूले विद्यार्थीहरूलाई सकेसम्म चाँडो क्याम्पसमा फर्कान अधिकतम् प्रयास गरिरहेको विज्ञप्तिमा उल्लेख छ।