सिरहामा सामुहिक बलात्कारको सिकार भएकी १७ वर्षीया किशोरीद्वारा आत्महत्या, पञ्चले धम्क्याएको खुलासा

लहान– सिरहामा सामूहिक बलात्कारको सिकार भएकी १७ वर्षीया किशोरीले आत्महत्या गरेकी छिन्। करिव २ सातापछि यो घट्ना सार्वजनिक भएको हो।
बलात्कारको घटनामा न्याय दिलाउनुको सट्टा स्थानीयले पञ्चायती बसेर उल्टै धम्की दिएको र पीडकलाई जोगाउन न्याय खोज्ने कानुनी बाटोसमेत वन्द गरिदिएपछि विछिप्त बनेकी नवराजपुर गाउँपालिका– १, भगवतीपुर (तामासुइया) की रिंकुकुमारी सदायले आत्महत्या गरेकी हुन।
उनले २७ माघमा घरमै झुण्डिएर आत्महत्या गरेको जनाईएको छ। स्रोतका अनुसार पञ्चहरुले आरोपीहरुबाट १ लाख ४० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय सुनाउँदै घटना सार्वजनिक गरे समस्यामा पर्ने भन्दै किशोरीलाई धम्काएका थिए। त्यसको केही घण्टापछि नै उनले आत्महत्या गरेको खुलेको छ।
आमाले बताए अनुसार २६ माघको राति शौचालय गएकी रिंकुलाई स्थानीय टिंकु मण्डल, चन्दन साह र रमेश मण्डलले जवरजस्ती उठाएर लगि सामुहिक बलात्कार गरेका थिए। अचेत अवस्थामा राति करिब ३ बजे उनलाई घरमा छोडिएको थियो। होसमा आएपछि सोधपुछ गर्दा बलात्कारको घट्ना सार्वजनिक भएको हो।
भोलिपल्ट स्थानीयहरुको पञ्चायत बसेर गाउँको कुरा गाउँमै मिलाउनु पर्छ भन्दै पीडकलाई १ लाख ४० हजार जरिवाना तिराउने निर्णय गरे। त्यसपछि पञ्चहरुले घटना बाहिर लगे समस्यामा पर्ने भन्दै उल्टै पीडितलाई धम्काएका थिए।
पञ्चायतले यस्तो निर्णय भएको केही घण्टामै रिंकुतले आत्महत्या गरेको आमाको भनाई छ। ‘बिहान पञ्चायत भयो, साँझपख छोरीले आत्महत्या गरिन्।’– उनले भनिन्। पीडित परिवारले सामूहिक बलात्कार भएकाले विस्तृत अनुसन्धान गर्न प्रहरीसमक्ष माग गरेका छन।
परिवारका अनुसार घटनामा संलग्न भएकाहरुलाई प्रहरीले अहिलेसम्म पक्राउ गरेको छैन। इलाका प्रहरी कार्यालय लहानका डीएसपी विष्णु सोतीले पनि घट्नामा हालसम्म कसैलाई पक्राउ नगरिएको बताए। उनले बलात्कार नभई पीडित परिवारकोतर्फबाट आत्महत्या दुरुत्साहनको जाहेरी आएको बताए।
जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी विरेन्द्र पासवानले आत्महत्या दुरुत्साहनको उजुरी आएकाले एक जना युवक विरुद्ध जिल्ला अदालत सिरहाबाट पक्राउ पुर्जी लिईएको बताए। ‘एक जना युवकले विवाह गर्न भन्दै लिएर गएको तर नराखेको भन्ने कुरा आएको छ। जाहेरीमा पनि बलात्कारको कुरा आएको छैन। हामी भेरिफाई गर्दैछौं।’ उनले भने।
‘सुन्नमा आए अनुसार बलात्कार भएको कुरा पनि चर्चामा छ। त्यसैले हामीले मृतकको पोष्टमार्टम लहानमा नगराएर धरान पठाईएका छौं’ डीएसपी पासवानले भने–‘बाँकी हुरा त अनुसन्धानको विषय हो, पोष्टमार्टम रिपोर्ट आएपछि धेरै कुरा खुल्छ।’
घट्नामा हालसम्म कसैलाई पक्राउ नगरिएको उनले बताए।