नयाँ दिल्ली रेलवे स्टेशनमा भागदौड मच्चिँदा ३ बालबालिकासहित १८ जनाको मृत्यु

काठमाडौँ– भारतको राजधान नयाँ दिल्लीस्थित रेलवे स्टेशनमा शनिबार राति भागदौड मच्चिँदा १८ जनाको मृत्यु भएको छ भने २५ जना बढी घाइते भएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार मृतकमध्ये तीन जना बालबालिका छन्।
व्यवस्थापनको लापरबाहीका कारण दुर्घटना हुन पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। महाकुम्भमा सहभागि हुन प्रयागराज जान हजारौं यात्रुले रेल कुरिरहेका बेला दुर्घटना भएको हो। अत्याधिक भीडका कारण राति करिव ९ः५५ मा भागदौड मच्चिँदा उक्त दुर्घटना भएको स्थानीय सञ्चार माद्यमले जनाएका छन्।
डीसीपी (रेलवे) केपीएस मल्होत्राका अनुसार प्लेटफर्म नम्बर १३ र १४ मा दुर्घटना भएको हो। जहाँ प्रयागराज जाने रेलहरू ढिलो भएका कारण हजारौँ यात्रु जम्मा भएका थिए। प्लेटफर्म नम्बर १२, १३ र १४ मा अस्वाभाविक भीड थियो।
प्रयागराज स्पेशल ट्रेन आउने बेलामा अचानक भुवनेश्वर राजधानी एक्सप्रेस प्लेटफर्म १६ मा आइरहेको घोषणा गरियो। यसले गर्दा यात्रुहरू आत्तिएर भागे। जसले भागदौड मच्चायो। लगातार दुई हप्तादेखि भीड बढिरहेको भएपनि रेलवेले कुनै नियन्त्रण कक्ष वा विशेष सुरक्षा व्यवस्था नगरेको बताइएको छ।
प्रहरी उपायुक्त (रेलवे)का अनुसार जब प्रयागराज एक्सप्रेस ट्रेन प्लेटफर्म नम्बर १४ मा उभिएको थियो, त्यहाँ ठूलो भीड जम्मा भइसकेको थियो। स्वतन्त्रता सेनानी एक्सप्रेस र भुवनेश्वर राजधानी एक्सप्रेस ढिलो भएका कारण यी ट्रेनका यात्रुहरू पनि प्लेटफर्म नम्बर १२, १३ र १४ मा जम्मा भएका थिए।
रेलवेले प्रत्येक घण्टा १,५०० सामान्य टिकट बिक्री गरिरहेको थियो, जसका कारण स्टेशनमा भीड झन् बढ्दै गयो र स्थिति नियन्त्रणबाहिर पुगेको हो।
रेलमन्त्री अश्विनी वैष्णवले घटनापछि उच्चस्तरीय छानबिनको आदेश दिएका छन्। उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘नयाँ दिल्ली रेलवे स्टेशनमा अचानक भीड नियन्त्रण गर्न ४ विशेष ट्रेनहरू सञ्चालन गरिएको छ। अहिले भीड कम भइसकेको छ।’