महाकुम्भ स्नान गर्न जाँदै गरेका श्रद्धालु सवार बोलेरो दुर्घटना हुँदा १० जनाको मृत्यु

काठमाडौँ– भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा महाकुम्भमा स्नान गर्न जाँदै गरेका श्रद्धालु सवार बोलेरो दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्। बसको ठक्करबाट बोलेरो दुर्घटनामा परेको हो।
भारतीय सञ्चारमाध्यमले जनाए अनुसार बस र बोलेरोमा सवार सबै मध्यप्रदेश र छत्तीसगढका बासिन्दा हुन। शनिबार बिहान राति करिब २ बजे प्रयागराज–मिर्जापुर राजमार्गको मेजा क्षेत्रमा यो घटना भएको हो। बोलेरो र बस एक आपसमा ठोक्किँदा बोलेरोमा सवार १० जनाको घटनास्थलमै ज्यान गएको हो।
ती सबै छत्तीसगढको कोरबा जिल्लाका बासिन्दा रहेको र संगम स्नान गर्न जाँदै गरेको बताइएको छ। बसमा सवार १९ जना घाइते छन्। उनीहरु संगममा स्नान गरेर वाराणसी फर्किरहेका थिए। घाइते सबैलाई सीएचसी रामनगरमा भर्ना गरिएको बताइएको छ।
बसमा सवार सबै मध्य प्रदेशको राजगढ जिल्लाका बासिन्दा हुन्।
घटनाको जानकारी लिँदै मुख्यमन्त्री योगी आदित्यनाथले अधिकारीहरूलाई आवश्यक निर्देशन दिएका छन्। तीव्र गतिमा रहेको बोलेरो बससँग ठोक्किएर दुर्घटना भएको बटुवाहरूले प्रहरीलाई जानकारी गराएका थिए।
प्रहरीले मृतकको शव पोस्टमार्टमको लागि पठाएको छ। घटनाको कारणको बारेमा अनुसन्धान सुरु गरिएको छ।