डिभाईडरमा मोटरसाईकल ठोक्किदा उछिट्टिएर त्रिशुलीमा वेपत्ता भए भारतीय सैनिक, गोताखोरले पनि भेटेन

काठमाडौँ– नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ मा मोटरसाइकल दुर्घटना हुँदा उछिट्टिएर एक युवक त्रिशूली नदीमा वेपत्ता भएका छन्।

चितवनको भरतपुर महानगरपालिका–१, रामपुरका २७ वर्षीय रोहित राना त्रिशूली नदीमा बेपत्ता भएका हुन। शुक्रबार बिहान करिब पौने १२ बजे राना सवार बा ००६–०२ प ९२०४ नम्बरको मोटरसाईकल सडक छेउको डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको थियो।

मोटरसाईकल दुर्घटना हुँदा राना उछिट्टिएर त्रिशूली नदीमा पुगेको दुर्घटनास्थल नजिकै माछा मार्दै गरेका प्रत्यक्षदर्शीले बताएका छन्। राना चट्टाने भीर (दुई किलो)भन्ने ठाउँबाट १५० मिटर तल खसेर नदीमा वेपत्ता भएको उनीहरुले बताए। सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटिएको गोताखोरसहितको टोलीले शुक्रबार दिनभर खोजी गर्दा पनि उनलाई फेला पार्न सकेको छैन।

जानकारी अनुसार काठमाडौँ जान भन्दै उनी एक्लै मोटरसाइकलमा निस्किएका थिए। उनी मोटरसाइकलबाट नदीमा खसेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा उनले बोकेको पर्स, केही कागजात, लुगा, जुत्ता भेटिएको इलाका प्रहरी कार्यालय मुग्लिनकी इन्सपेक्टर निरला भण्डारीले बताईन।

उनले कम्मरमा बोक्ने सानो ब्याग भीरमा अड्किएको अवस्थामा प्रहरीले फेला पारेको थियो। सोही ब्यागमा पर्स लगायतका कागजात फेला परेका हुन। रानाको साविक घर लमजुङको सुन्दरबजार नगरपालिका–३, चन्द्रेश्वर हो। उनी र उनका परिवार चितवन बस्न थालेको करिव २० बर्ष जति भएको जनाईएको छ। राना भारतीय सेनामा कार्यरत थिए। रोहितका बुवा अशोक पनि भारतीय सेनाको सेवानिवृत्त सैनिक हुन्। रोहितका भाई पनि भारतीय सेनामै कार्यरत छन्।

बेपत्ता रोहित घरका जेठा छोरा हुन्। उनी अबिवाहितनै रहेको जनाईएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट