शानदार मःम पसलको सिलिण्डर विस्फोटमा परी मृत्यु हुनेको संख्या ३ पुग्यो, मृतक २ जना उदयपुरका

काठमाडौँ– काठमाडौँको कमलपोखरीस्थित शानदार मःम पसलमा २४ माघमा भएको ग्यास सिलिण्डर विस्फोटमा परी मृत्यु हुनेको संख्या ३ पुगेको छ।
सिलिण्डर विस्फोटमा परी घाइते भएका उदयपुरको उदयपुरगढी गाउँपालिका–७ घर भइ काठमाडौं महानगरपालिका–२८ बस्ने २२ वर्षीय प्रदीप तामाङको मृत्यु भएपछि मृतकको संख्या ३ पुगेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार कीर्तिपुर बर्न अस्पतालमा उपचाररत तामाङको शुक्रबार दिउँसो साढे २ बजे मृत्यु भएको हो।
यसअघि मकवानपुरको मनहरी गाउँपालिका–५ डिल्लीपुरका १८ वर्षीय रबिन राई र उदयपुरको कटारी नगरपालिका–८ गालटारका २५ वर्षीय भीम बहादुर घले मगर (नवीन) को उपचारका क्रममा गत सोमबार मृत्यु भएको थियो।
उक्त विस्फोटमा परेर ११ जना घाइते भएका थिए। अन्य घाइतेको उपचार जारी छ। बिहान पौने ९ बजेको समयमा सिलिण्डर विष्फोट हुँदा घाईते भएका र मृतक सवै सोही पसलका कामदार हुन।