अन्तर्राष्ट्रिय कण्डम दिवस विविध कार्यक्रम गरी मनाइयो

झापा – विश्वव्यापी रूपमा मनाइने अन्तर्राष्ट्रिय कण्डम दिवस भद्रपुर झापामा भव्य रूपमा सम्पन्न भएको छ। सुरक्षित यौन सम्पर्कको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले विविध कार्यक्रम आयोजना गरिएको थियो।
स्वास्थ्य कार्यालय झापा र प्रादेशिक अस्पताल भद्रपुरको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा निःशुल्क कण्डम वितरण गरिएको थियो । अस्पतालका कर्मचारी तथा वार्ड इन्चार्जहरूलाई लक्षित गर्दै कण्डमको सही प्रयोगबारे जानकारीमूलक सन्देश प्रवाह गरिएको थियो। कार्यक्रममा जनस्वास्थ्य विज्ञ दुर्गा आचार्यले कण्डमको महत्त्व, यसको प्रयोग विधि तथा सुरक्षित यौन स्वास्थ्यबारे जानकारी गराएका थिए।
यसैगरी, मेची प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. रामबाबु खड्काले कण्डमको उपयोगिता र यसको आवश्यकता बारे प्रकाश पार्दै समुदायमा सचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रमहरू प्रभावकारी हुने बताए। कार्यक्रममा कण्डम वितरण कार्यक्रममा स्वास्थ्य कार्यालय झापा, प्रादेशिक अस्पताल भद्रपुरका नर्सिङ स्टाफ, वार्ड इन्चार्जहरू, भद्रपुर नगरपालिकाका प्रतिनिधिहरू तथा पोखरा विश्वविद्यालयका जनस्वास्थ्य संकायका सातौँ सेमेस्टरका विद्यार्थीहरू सहभागी भएका थिए।
कार्यक्रममा एड्स हेल्थकेयर फाउन्डेसन नेपालको विशेष सहयोग रहेको थियो। उक्त संस्थाले विगतदेखि नै विश्व एड्स दिवस, राष्ट्रिय कण्डम दिवसलगायतका स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। स्वास्थ्य क्षेत्रमा जनचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रमहरू महत्वपूर्ण हुने बताउँदै आयोजक संस्थाहरूले आगामी दिनमा पनि स्वास्थ्य जागरुकता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्।