८ महिने बालकसहित २ जनालाई खुकुरीले छप्काएर भाग्दै गर्दा आफैले बोकेको खुकुरीको धरापमा परेर मृत्यु

काठमाडौँ– रूकुम पूर्वमा दुई जना छिमेकीलाई हत्या गरेर फरार भएका ब्यक्ति पनि मृत फेला परेका छन्। जुन खुकुरी प्रहार गरी दुई जनाको हत्या गरे सोही खुकुरीको धरापमा परेर अभियुक्त पनि मृत्यु भएको हो।
भूमे गाउँपालिका– ४ मा मंगलबार दिउँसो करिव ३ बजे ६० वर्षीया ढाँटी बुढा र उनका ८ महिनाका नाति समिर बुढाको हत्या भएको थियो। खुकुरीको प्रहार क्षतविक्षत भएको अवस्थामा उनीहरुको शव फेला परेको थियो।
प्रहरीको प्रारम्भिक अनुशन्धानमा दुवै जनाको हत्यामा छिमेकी ५१ वर्षीय चन्द्रसिंह पुनको संलग्नता देखियो। हत्या गरेर भागेको सूचना पाएपछि प्रहरी चन्द्रसिंहको खोजीमा लाग्यो। स्थानीयका अनुसार उनी खुकुरी नचाउँदै गाउँबाट भागेका थिए।
फरार भएका चन्द्रसिंहको खोजी गर्ने क्रममा उनी पनि खुलखुले खोलामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रमुख डिएसपी माधव खरेलले बताए। प्रहरीका अनुसार उनको टाउकोमा धारिलो हतियार प्रहार भएको देखिएको छ।
प्रहरी पछि लागेको थाहा पाएपछि भाग्ने क्रममा भिरबाट लडेका उनलाई आफैले बोकेको खुकुरीले टाउकोमा लागेको हुन सक्ने डीएसपी खरेलको भनाई छ। पुनले नाबालक र उनकी हजुरआमाको हत्या किन गरे भन्ने खुलेको छैन।