चोरीको मोवाईल खोसाखोसमा चोरहरुको ग्याङ फाईटः एक जनाको मृत्यु, ३ जना पक्राउ

काठमाडौँ– काठमाडौँको चावहिलस्थित कुमारीगालमा रहेको उमामहेश्वरीमा आइतबार बिहान चोरहरुको दुई समुहबीच ग्याङ फाईट हुँदा १ युवकको मृत्यु भएको छ।
चोरीको मोवाइल खोसाखोसमा भएको ग्याङ फाईटामा गम्भीर घाइते भएका काभ्रेपलाञ्चोकको धुलिखेल–९ पानीट्याङ्की निवासी २३ वर्षीय अमृत (संघर्ष कार्की) को उपचारका गर्न नपाउँदै मृत्यु भएको हो। उनी हाल गोकर्णेश्वर नगरपालिका–६ नयाँवस्तीमा बस्दै आएको खुलेको छ।
घट्नाको बारेमा जानकारी पाएर पुगेको प्रहरीले घाईते अवस्थाका दुई जनालाई केएमसी अस्पताल पुर्याएको थियो। त्यसमध्ये अचेत अवस्थामा रहेका संघर्षलाई भने अस्पताल पुर्याउनासाथ डाक्टरहरुले मृत घोषणा गरेका थिए।
अर्का घाइते १६ वर्षिय क्षितिज कार्कीलाई केएमसीले राष्ट्रिय ट्रमा सेन्टरमा रिफर गरेको छ। हात, पिठ्यू र तिघ्रामा चोट लागेका उनलाई उपचारपछि गौशाला प्रहरीको हिरासतमा राखिएको छ। प्रहरीले घट्नास्थलबाट दोलखाको जिरी नगरपालिका १ घर भई कपनको सिमलटार बस्दै आएका २२ वर्षिय युनिक लामा (नुर्बु शेर्पा) र सिन्धुपाल्चोक बाह्रविसे–८ घर भई गोकर्णेश्वर–८ बस्ने २० वर्षिय विशाल तामाङलाई पक्राउ गरेको थियो।
उनीहरु तीनै जनालाई प्रहरीले मंगलबार पक्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। काठमाडौं प्रहरी परिसरका सूचना अधिकारी एसपी अपीलराज बोहराका अनुसार एउटा समूहले टिकटिके मोबाइल चोरेको देखेपछि अर्को समूहले खोस्ने क्रममा झडप भएको थियो।
उनका अनुसार पक्राउ परेकामध्ये युनिक ५ पटक अभद्र व्यवहारमा पक्राउ परेर छुटेका हुन भने विशाल २ पटक चोरीको मुद्दामा संलग्न रहेको प्रहरीको रेकर्डमा देखिएको छ।